एसियाली विकास बैंकको दुई अर्ब ९१ करोड सहयोग

काठमाण्डु टुडे २०७० चैत १७ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, १७ चैत – एसियाली विकास बैंकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि करिब दुई अर्ब ९१ करोड (तीस मिलियन अमेरिकी डलर) थप ऋण सहायता प्रदान गर्न सहमत भएको छ ।

बैंकले सोमबार जारी गरेको विज्ञप्तिअनुसार यो ऋण सहायता सो विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित र व्यवस्थित बनाउन खर्चिनेछ ।

विमानस्थलको क्षमता विस्तारपछि गौतम बुद्धको जन्मस्थल पुग्न यात्रुहरूलाई सहज हुने र सांस्कृतिक तथा धार्मिक पर्यटनको समेत विस्तार हुने, उल्लेख्य मात्रामा विदेशी पर्यटक लुम्बिनी भ्रमणमा आउने क्रम बढ्ने विश्वास लिइएको छ ।

बैंकको यहाँस्थित देशीय निर्देशक केनिची योकोहामाले विमानस्थलको विकासले दक्षिण एसियाली क्षेत्रमा पर्यटकको आवागमनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

सो विमानस्थलको निर्माण सम्पन्न भएपछि सन् २०३० सम्म ७६ लाख यात्रुलाई सेवा पुग्नेछ । त्यसमध्ये लुम्बिनी घुम्न जाने पर्यटकको सङ्ख्या दुई लाख ८० हजार रहने छन् । यस्तै भारत, म्यान्मा, श्रीलङ्का, थाइल्यान्ड, चीन, जापान, दक्षिण कोरियालगायतका मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि हुनेछ ।

विस्तारपछि सो विमानस्थल पूर्ण क्षमतामा सञ्चालन भई वाइड बडी जहाजसमेत सहजरुपमा अवतरण र उडान गर्न सकिनेछ । विमानस्थलको विस्तारपछि धावनमार्ग कुल तीन किलोमिटर लामो हुनेछ । त्यहाँ एक हजार पाँच सय मिटरको ट्याक्सी वे र अत्याधुनिक ट्रर्मिनल भवन निर्माण गरिने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सो विमानस्थलको स्तरोन्नतिको काम गरिरहेको छ । यस्तै, बैंकले लुम्बिनी क्षेत्रमा स्वच्छ सार्वजनिक यातायातका लागि विद्युतीय सवारी साधनको व्यवस्थाका लागिसमेत सहयोग गर्ने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us