तिलाठीमा आगलागी, २१ घर खरानी

काठमाण्डु टुडे २०७० चैत १७ गते १०:०५ मा प्रकाशित

सप्तरी, १७ चैत – तिलाठी गाविसका वडा नं ४ र ७ मा भएको आज भएको आगलागीमा २१ घर जलेर नष्ट भएको छ ।

तिलाठी गाविस– ४ निवासी बौकु सुतिहारका घरबाट बिहान ९ बजे सल्केको आगोले फैलेर राम सुतिहार, सुकदेव सुतिहार र नन्दलाल यादवलगायत नौ परिवारका घर जलेको र आगो निभाउने क्रममा चार घर तोडफोड गरिएको छ ।

आगलागीमा परी करिब रु ३० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ । शरीरमा लगाएको लुगाबाहेक अन्य कुनै सामान जोगाउन नसकेको पीडितले बताएका छन् ।

ढोल बजाएर आगलागीबाट बच्न हावाहुरीको समयमा आगो नबाल्न गाउँमा सचेतना जगाइरहेका बेला आगलागी भएको स्थानीयवासीले बताएका छन् ।

राजविराज नगरपालिकाबाट पुगेको वारुणयन्त्र, स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको दुई घन्टाको अथक प्रयासमा बिहान ११ बजेतिर आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार दिउँसो सप्तरीको विषहरिया गाविस– ९ स्थित सिग्यिौन टोलमा भएको आगलागीमा ३० परिवार परिवारको ७६ घर जलेर नष्ट भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us