चौतारीको राष्ट्रिय भेला चैत २९ मा

काठमाण्डु टुडे २०७० चैत १७ गते ८:३६ मा प्रकाशित

काठमाण्डु, १७ चैत – प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको आसन्न राष्ट्रिय महाधिवेशनमा आफ्नो भूमिकाका बारेमा छलफल गर्न यही चैत २९ गते यहाँ राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

चौतारीका महासचिव माधव नेपालका अनुसार भेलामा केन्द्रीय सल्लाहकार, पूर्व केन्द्रीय पदाधिकारी, अञ्चल तथा जिल्ला अध्यक्ष र सचिव, चौतारी निकट महासंघका केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्ष गरी करिब ५०० को सहभागिता रहने छ ।

भेलाको तयारीका लागि मध्यमाञ्चल उपाध्यक्ष उपेन्द्र केसीको संयोजकत्वमा सचिव गणेश पाण्डे, नरेन्द्र साउद र रामकुमार एलन, कोषाध्यक्ष विश्वमणि सुवेदी, केन्द्रीय सदस्य केशव अधिकारी, अमृतनाथ तिमल्सिना र सुरोजङ्ग पाण्डे, अञ्चल अध्यक्ष शन्तराम बिंडारी, प्रकाश सिलवाल र विष्णु तारूके तथा गोविन्द चौलागाईं रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ ।

साथै महासङ्घका लागि उम्मेदवार तय तथा अन्य पक्षसँग वार्ता गर्न चौतारीका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, उपाध्यक्ष केसी र महासचिव नेपाल सम्मिलित टोली गठन गरिएको छ । आउँदो वैशाखको तेस्रो साता हुने महासङ्घको महाधिवेशनका लागि चौतारीकातर्फबाट डा महेन्द्र विष्ट, बालकृष्ण चापागाईं, गगन विष्ट र यशोदा तिम्सिनालेमा आकाङ्क्षा व्यक्त गरेको चौतारीले जनाएको छ ।

यसैबीच ‘नेपालवाणी रेडियो नेटवर्क’का पूर्व कर्मचारीले सेवा सुविधाको माग गरी आन्दोलित भएकाप्रति ध्यानाकर्षण जनाउँदै चौतारीले व्यवस्थापन पक्षलाई वार्ताबाट समस्याको समाधान गर्न माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us