काठमाण्डु, १७ चैत – लोकगायिका मञ्जु महतको शव अहिले कमलादीस्थित नेपाल प्रज्ञा –प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिएको छ ।
गत बिहीबार दिउँसो ठमेलस्थित गल्कोपाखामा भएको सवारी दुर्घटनामा परी उपचारका क्रममा शनिबार उनको निधन भएको थियो ।
दुर्घटनामा संलग्न सवारी धनीसँग क्षतिपूर्तिका विषयमा आइतबार सहमति कायम भएपछि सोमबार शव परीक्षणपछि त्यहाँ ल्याइएको हो । सो स्थानमा उनलाई श्रद्धाञ्जलि दिनका लागि आफन्त, विभिन्न कलाकार तथा सर्वसाधारणको सहभागिता छ ।
कास्कीको भरतपोखरी गाविस वडा नं ६ बासपानीमा जन्मेकी २८ वर्षीया महत लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका प्रथम उपाध्यक्षसमेत थिइन् ।
महत विद्यालय र क्याम्पसमा पढ्दादेखि नै विभिन्न गीत तथा अभिनय गर्दै राष्ट्रियस्तरमा लोकप्रिय गायिकाका रुपमा स्थापित भएकी थिइन् । महतले करिब ४० म्युजिक भिडिओमा अभिनय तथा चार दर्जनभन्दा बढी गीत र प्रत्यक्ष लोक दोहरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् ।
महतका श्रीमान्, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।