
काठमाण्डु, १७ चैत – संविधानसभा अध्यक्षसहित प्रमुख दलका नेताहरुले आगामी माघ ८ गते भित्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिने प्रतिवद्धता जनाएका छन् ।
रिपोर्टर्स क्लब नेपालको १६औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष साक्षात्कारमा बोल्दै नेताहरुले संविधान जारी गरेर राजनीतिक स्थायीत्व मार्फत आर्थिक विकासलाई अघि बढाउने प्रतिवद्धता जनाएका हुन् ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुले गरेको प्रतिबद्धता र जनादेशको जगमा उभिएर आगामी माघ ८ गते भित्र संविधान निर्माण गर्नु पर्ने बताए ।
पहिलो संविधानसभाको विघठनपछि मुलुक अँध्यारो सुरुङमा प्रवेश गरेको र जननिर्वाचित सरकारको गठन पछि सो सुरुङको मुखमा मधुरो प्रकाश देखिएको उनको भनाइ छ ।
अध्यक्ष नेम्वाङले दलीय अडानमा लचक हुन आग्र दलहरुलाई आग्रह गरे । ‘हामी सबै एउटै जहाजमा समुन्द्रको बीचमा छौं,’ नेम्वाङले भने, ‘सहमति र सहकार्यमा जहाजलाई किनारा लगाउन नसके सबै दुर्घटनामा पर्छौं, कोही पनि बाँच्दैनौ ।’
यस्तै एमाले अध्यक्ष झलनाथ खनालले संविधान निर्माणसँगै मुलुकको आर्थिक विकासलाई अघि बढाउनु पर्ने भन्दै नेपाली जनतासँग गरेको प्रतिबद्धता अनुसार एक वर्षभित्रै संविधान जारी गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले बारम्बार भएको राजनीतिक परिवर्तनको उपलब्धिहरुलाई बचाउन नसकिएको भन्दै दोस्रो जनआन्दोलनको उपलब्धि मुलुकमै उथलपुथल ल्याउने खालेको भएकोले अब सबै यसलाई संस्थागत गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए । आगामी माघ ८ गते भित्र संविधान जारी गर्ने उनको प्रतिवद्धता छ ।
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले यथार्थपरक रुपमा काम गरेर नयाँ संविधानको निर्माणसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा लैजानु पर्ने आवश्कता औंल्याए । आगामी माघको पहिलो साता भित्रै संविधान जारी हुने उनको दावी छ ।
यसैगरी एकीकृत नेकपा माओवादीका नेता वर्षामान पुनले एक वर्षभित्र कुनै पनि हालतमा संविधान निर्माण गर्नै पर्ने र त्यो भन्दा बाहिर जान नसकिने भन्दै अहिलेनै कसैले पनि आशंकाको दृष्टिकोणले हेर्न नहुने बताए । संविधान निर्माण गरेर अािर्थक विकासमा केन्द्रित हुनु पर्नेमा उनको जोड छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माणको क्रममा आफूहरुको धेरै विषयहरुमा फरकमत रहे पनि रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।
प्रमुख दलहरुको गतिविधि हेर्दा समयमा संविधान नबन्ने तर बनिहाले पनि नटिक्ने उनको आशंका छ ।
कार्यक्रममा पूर्वमन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी, कानुनमन्त्री नरहरी आचार्य, नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुषाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतले पनि बोलेका थिए ।