
काठमाण्डु, १६ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले एक वर्षभित्र संविधान बनाउनुको विकल्प नेतृत्व वर्गसँग नभएको बताएका छन् ।
आफ्नो ८७औँ जन्मोत्सव मनाउने क्रममा राजधानीमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री थापाले तोकिएको समयावधिभित्र संविधान बन्नुपर्ने भन्दै त्यसको विकल्प कुनै पनि नेतृत्व वर्गले दिन नसक्ने स्पष्ट पारे ।
थापाले भने, ‘संविधान नबन्दा नेतृत्व वर्गको नेतृत्व क्षमता नै समाप्त हुन्छ, जनताले संविधान लेख्न एकपटक फेरि अन्तिम मौका दिएका छन्, संविधान नबनाए जनताको विश्वास समाप्त हुन्छ ।’
‘संविधान बन्दैन कि भन्ने जनमानसमा आशङ्का रहनु नेतृत्वको आनीबानीका कारणले गर्दा हो तर दू्रत गतिमा संविधान लेखनको कामलाई अघि बढाएर यो आशङ्कालाई मेटाउन सकिन्छ’ उनले भने ।
दुई महिनासम्मको संविधासभाको कामलाई हेर्दा जनताले नेतृत्वलाई शङ्काको घेरामा राख्ने ठाउँ बनेको उनको भनाइ थियो ।
अध्यक्ष थापाले स्थानीय निकाय निर्वाचनको मिति आपसी समझदारीमा तोक्नुपर्ने भन्दै वर्षायाम सुरु हुन लागिसकेकाले मिति तोक्न ढिला भइसकेको बताए ।