ढुङ्गा हानेर वृद्धाको हत्या

काठमाण्डु टुडे २०७० चैत १६ गते ८:०६ मा प्रकाशित

बागलुङ, १६ चैत – जिल्लाको दुदिलाभाटी गाविसमा ढुङ्गा प्रहारबाट एक वृद्धाको हत्या भएको छ ।

दुदिभाभाटी–६ भण्डारवनकी ६८ वर्षीया मीनकुमारी खत्रीको स्थानीय एक युवाले गरेको ढुङ्गा प्रहारबाट ज्यान गएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ ।

स्थानीय २४ वर्षीय दिवश पुनले शनिबार साँझ ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी खत्रीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा ज्यान गएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख वीरबहादुर पुलामीले जानकारी दिए ।।

खत्रीको टाउकोमा गम्भीर चोट लागेको थियो । वृद्धालाई ढुङ्गा प्रहार गर्ने पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुनले के–कति कारणले ढुङ्गा प्रहार गरे भन्नेबारे खुल्न सकेको छैन ।

यसअघि पनि विभिन्न घटनामा संलग्न देखिएका पुन आपराधिक मनसाय बोकेका व्यक्ति भएको प्रहरीले जनाएको छ । घरमै बसिरहेका बेला पुनले एक्कासि वृद्धामाथि आक्रमण गरेको बुझिएको छ । प्रहरीले पक्राउ परेका पुनमाथि अनुसन्धान गर्न सुरु गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us