
पोखरा, १६ चैत – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकीहरुको स्तरोन्नति, दरबन्दी थप र अस्पतालमा विशेषज्ञ सेवा विस्तार गरी जनतालाई आधारभूत गुणस्तरीय सेवा दिन मन्त्रालय तत्परताका साथ लागेको बताएका छन् ।
प्रेस चौतारी नेपाल कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले सरकारी अस्पतालमा निःशुल्क वितरण गरिने औषधिको सङ्ख्या ४० बाट बढाएर ७० पु¥याउन लागिएको जानकारी दिए ।
एक करोड जनसङ्ख्या हुँदा बनाइएको स्वास्थ्यकर्मीहरुको दरबन्दी अहिले जनसङ्ख्या बढेर दुई करोड ६७ लाख हुँदा पनि त्यही दरबन्दी सङख्या रहेको बताउँदै उनले जनसङ्ख्या अनुपातको दरबन्दी वृद्धि गर्न अन्तरमन्त्रालयबीच छलफल गरी मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गराइने उल्लेख गरे ।
दुुर्गम ठाउँमा गएर सेवा गरिसकेपछि चिकित्सकहरुको स्वतः एक तह बढुवा हुने भएकाले अहिले चिकित्सकहरुको दुर्गम ठाउँमा गएर काम गर्ने इच्छा बढ्दै गएको बताउदै उनले मृगौलाजस्ता प्राणघातक रोग लाग्नबाट जोगिन स्वास्थ्य चौकीहरुमै रगत जाँच गर्ने प्राविधिक जनशक्ति राख्ने तयारी भएको जानकारी गराए ।
पत्रकारहरुको एक जिज्ञासामा मन्त्री अधिकारीले सरकार स्थानीय निकायको निर्वाचन गर्ने तयारीमा रहेको र यसमा सबै राजनीतिक दल सहमतिमा आउने विश्वास व्यक्त गरे ।