
काठमाण्डु, १६ चैत –काठमाण्डौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइदैछ ।
हरेक बर्षको कृष्ण औँशीका दिन उपत्याकामा घोडेजात्रा पर्व मनाउने गरिन्छ ।
यस पर्वका अवसरमा नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ ।
दिउसो २ बजेपछि आयोजना हुने कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीगण, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख तथा उच्च सरकारी अधिकारीहरुको सहभागिता रहनेछ ।
कार्यक्रममा घोडा दौडाका साथै आतसबासी तथा विभिन्न कलाकौशलको प्रदर्शन गरिने नेपाली सेनाले जनाएको छ ।
यस्तै घेडेजात्रा पर्वकै अवसरमा काठमाडौँका नेवार समुदायले घरघरमा आफन्तजन बोलाएर रमाइलो गर्ने गर्छन ।
यस्तै आजै पाटन बालकुमारीमा पनि एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइने प्रचलन रहेको संस्कृतिविद् हरिराम जोशीले बताए ।
जनविश्वासअनुसार टुडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसलेसहरका बालबालिकालाई खाने गरेकाले पीडित सहरवासीले विभिन्न उपायले राक्षसको संहार गरेका थिए ।
तर, उससको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय भने यथावत रह्यो ।
त्यसैले प्रत्येक बर्ष घोडेजात्राका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ ।
साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी राति त्यही रुखको फेदमा गुरुमापालाई खानेकुरा दिने प्रचलन छ ।
यसैबीच घोडेजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ ।