
काठमाण्डु, १५ चैत – पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले सक्रिय राजनीतिक जीवनपछिको बाँकी समय गोरखा जिल्लामै पशुपालन व्यवसाय गरेर बिताउने बताएका छन् ।
गोरखा पर्यटन समाजले शनिबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया भट्टराईले भने, ‘मैले यस्तोभन्दा धेरैले मेरो भनाइमा विश्वास नगर्लान्, तर म गोरखा जिल्लामै बसेर त्यहीँ मर्न चाहन्छु ।’
उनले विदेशिने वा काठमाण्डुमा बस्ने प्रवृतिको अन्त्य गर्न जरुरी रहेको बताउँदै सबै व्यक्ति गाउँ फर्केर जान आवश्यक रहेको बताए ।
भट्टराईले भने, ‘छोराछोरीलाई विदेश पठाउने र उनीहरु उतै बस्ने तथा बाबुआमा काठमाण्डुमा आएर बस्ने दुबै प्रवृति बढ्दै गएको छ, यसलाई निरुत्साहित गर्न जरुरी छ ।’
परम्परागत खेतीपाती गर्ने वा जागिर गर्ने दुबै मानसिकता त्यागी अबको पुस्ताले आफैँ उद्यमशील बन्न जरुरी रहेको उनको भनाइ थियो ।
भट्टराईले भने, ‘मेरो गोरखाको घर रहेको क्षेत्रमा खेती बढी हुँदैन, सो ठाउँमा बाख्रापालन गर्न उपयुक्त छ, साथीसँग मिलेर अहिलेदेखि नै बाख्रापालन गर्ने तयारीसमेत गरेको छु ।’
गोरखा जिल्लाका सभासद्समेत रहेका भट्टराईले गोरखालाई विकासको नमुना जिल्ला बनाउने पक्षमा आफू रहेकोसमेत बताए ।
कार्यक्रममा एमाओवादी नेता एवम् गोरखाका सभासद् हितराज पाण्डेले गोरखा ऐतिहासिक, सांस्कृतिक, धार्मिक, हिमाली र युद्ध पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै यसको प्रवद्र्धनका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा गोरखाको पर्यटन विकासबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।