दलहरुबीचको सहमतिप्रति प्रतिवद्ध छौं : महरा

काठमाण्डु टुडे २०७० चैत १५ गते १०:३५ मा प्रकाशित

krishna_bahadur_maharaकाठमाण्डु, १५ चैत – एमाओवादी नेता एवम् पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रमुख दलहरुबीच भएका सहमतिप्रति आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।

संविधानका अन्तरबस्तुमा यसअघि विभिन्न समयमा भएका सहमति महत्वपूर्ण हुने उनको भनाइ छ ।

नेपाल हटलाइन डट कम नामक न्युज पोर्टलको शनिबार राजधानीमा शुभारम्भ गर्दै नेता महराले पहिचानसहितको संघीयतामा आफूहरु प्रतिबद्ध रहेको बताए ।

सरकारको कार्यशैलीले एक वर्षमा संविधान बन्ने लक्षण नदेखिएको भन्दै उनले तोकिएको समयमै संविधान नबने नेकपा–माओवादीसंग ध्रुबीकरण सुरु हुने संकेत गरे । नेकपा–माओवादीसंग आधारभूत रुपमा राजनीतिक कार्यदिशाका विषमा सहमति भएमा पार्टी एकीकरणको संभावना रहेको महराले बताए ।

पहिचानसहितको संघीयता समेटिएको संविधान बन्ने वाताबरण बनेमा सोही ढंगले र संविधान नबन्ने अबस्थामा माओवादीसंग अर्कै किसिमले एकता र ध्रुबीकरण हुने महराको भनाइ थियो ।

सत्तारुढ दलहरुमा चारबुँदे सहमति कार्यान्वयन भन्दापनि माओवादीलाई पेलेर वा दवाएर जाने मनसाय देखिएको भन्दै महराले त्यस्तो अवस्थामा कठोर हुने चेतावनी दिए ।

कार्यक्रममा एकीकृत माओवादीका अर्का नेता शक्तिबहादुर बस्नेतले बदलिएको परिस्थितिमा एमाओवादी नया ढंगले अघि बढ्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us