
काठमाण्डु, १५ चैत – स्वास्थ्य मन्त्री खगराज अधिकारीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषय सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।
सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवाबाट वञ्चित नगराउनेतर्फ सरकार लक्षित भएको बताए ।
सरकार तथा निजी तहबाट सञ्चालन गरिएका स्वास्थ्य संस्थाहरुले प्रदान गरिरहेको स्वास्थ्योपचार सेवाको प्रभावकारिता तथा गुणस्तरीयता कायम गराउने कुरामा सरकारले काम गरिरहेको उनले उल्लेख गरे ।
सहकारी संस्थाका अध्यक्ष सोमनाथ अधिकारी (प्यासी)ले सहकारीद्वारा सञ्चालित कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालले अस्पतालको स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउन लागिरहेको बताए ।
सहिद मेमोरियल अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा डा गणेशमान गुरुङले सर्वसाधारणको स्वास्थ्य रक्षाका लागि अस्पताल अत्यन्त संवेदनशील संस्था भएको बताए ।
सहकारी संस्थाका माध्यमबाट सञ्चालित सहिद मेमोरियल अस्पतालको क्षमता अभिवृद्धिलगायतमा आवश्यक सहयोग गर्न उहाँले स्वास्थ्य मन्त्रीमार्फत सरकारसमक्ष आग्रह गरे ।
अस्पतालका मेडिकल डाइरेक्टर डा दीपक श्रेष्ठले सर्वसाधारणको स्वास्थ्य रक्षाका लागि अस्पतालले गुणस्तरीयतालाई उच्च प्राथमिकता दिँदै आगामी दिनमा अस्पतालको क्षमता अभिवृद्धि गर्नेतर्फ लक्षित भएको बताए ।