हिमपातका कारण यो वर्ष यार्सा धेरै पाइने

काठमाण्डु टुडे २०७० चैत १५ गते ७:०७ मा प्रकाशित

yarsagumbaडोल्पा, १५ चैत – यस वर्ष डोल्पाका हिमाली पाटनहरुमा उच्च हिमपात भएको छ । गत वर्षभन्दा यस वर्ष तुलनात्मक रुपमा धेरै हिमपात भएकाले ती क्षेत्रमा यर्सा धेरै उम्रने सङ्केत देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

डोल्पाका ४० भन्दा बढी पाटनमा यार्सागुम्बा पाइने गर्दछ । यो वनस्पति प्रायः हिउँ परिरहने सात हजार ७५४ मिटरसम्मको उचाइमा पाइने हुनाले हिमपात धेरै हुनुले यार्सा धेरै पाइने सङ्केत देखिएको स्थानीयवासी रत्नबहादुर विष्टले बताए ।

डोल्पालीमात्र नभई रुकुम, जाजरकोटलगायतका जिल्लाको प्रमुख आय स्रोत नै यार्सागुम्बा सङ्कलन भएकाले जेठदेखि असारसम्मको अवधि नै डोल्पालीको कमाउने समय भएको स्थानीयवासीले बताएका छन् ।

गत वर्ष डोल्पाका ४० भन्दा धेरै लेकमा ७० हजारभन्दा बढी मानिसले यार्सा सङ्कलन गरेकोमा यस वर्ष गत वर्षभन्दा दोब्बर मान्छे सङ्कलनका लागि आउने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष टीकादत्त न्यौपानेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us