
जनकपुर, १४ चैत– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलले तथाकथित उच्चस्तरीय राजनीतिक समितिका नाममा सिण्डिकेट थोपरेको आरोप लगाएका छन् ।
जनकपुरमा शुक्रबार भएको एक कार्यक्रममा थापाले कांग्रेस, एमाले र एकीकृत माओवादीले संविधानसभा बाहिर तथाकथित राजनीतिक संयन्त्रका नाममा गैरसंवैधानिक शक्ति केन्द्र र राजनीतिक सेन्डिकेट खडा गरेको आरोप लगाए ।
तीन दलीय सिण्डिकेटका कारण निर्वाचन सम्पन्न भएको एक वर्षभित्र नयाँ संविधान नबन्ने दाबी थापाको छ । उनले संविधान नबने त्यसको दोष काँग्रेस र एमालेले लिनुपर्ने बताए ।
‘तथाकथित उच्चस्तरीय राजनीतिक संयन्त्रका नाममा मुलुकमा सिण्डिकेट थोपर्ने काम भएको छ’, थापाले भने, ‘सरकारलाई बाइपास गर्न बनाइएको तीन दलको सिण्डिकेटका कारण एक वर्षभित्र संविधान नबन्ने खतरा बढेको छ ।’
थापाले तीन दलीय सिण्डिकेट खारेज नभए मुलुक नयाँ ढंगकको द्वन्द्वमा जाने चेतावनी दिए ।