गम्भीर मानवअधिकार उल्लंघनका दोषी सरकारी कार्यदलमा

काठमाण्डु टुडे २०७० चैत १४ गते ९:४६ मा प्रकाशित

काठमाण्डु, १४ चैत– गम्भीर मानवअधिकार उल्लंघनको अभियोगमा कारबाही सिफारिस गरिका प्रहरी अधिकृतलाई सत्य निरुपण तथा मेलमिलाप आगोयको विधेयक मस्यौदा विशेषज्ञ कार्यदलमा राखेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले आपत्ति जनाएको छ ।

आगोगले कार्यदल सदस्यमा प्रहरी उपरीक्षक चुडाबहादुर श्रेष्ठलाई राखेकामा आपत्ति जनाएको हो । सरकारले बिहीबार गठन गरेको कार्यदलमा विशेषज्ञ सदस्यका रुपमा श्रेष्ठलाई राखेको छ ।

आयोगले शुक्रबार प्रधानमन्त्री कार्यालय र शान्ति मन्त्रालयमा पचाचार गरी श्रेष्ठलाई कार्यदलबाट हटाउन भनेको छ । ‘मानवअधिकार उल्लंघनमा संलग्न व्यक्ति भनी आयोगबाट कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई सोही विषयमा प्रत्यक्ष रुपले सम्बन्धित कानुन मस्यौदा गर्ने प्रयोजनका लागि बनाइएको विशेषज्ञ कार्यदलमा सहभागी गराएको सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ’, पत्रमा भनिएको छ ।

पत्रमा उनलाई कार्यदलमा राख्नुको कारणबारे स्पष्ट गरी तीन दिनभित्र जवाफ पठाउन सरकारलाई निर्देशन दिइएको छ ।
२०६० साल असोज २१ गते जनकपुर नगरपालिका–४ बाट निहत्था अवस्थामा रहेका पाँच व्यक्तिलाई पक्राउ गरी बेपत्ता बनाएको अभियोगमा श्रेष्ठमाथि कारबाही गर्न आयोगले ६ वर्षअघि सरकारलाई निर्देशन दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us