गौर, १४ चैत– एसएलसी परीक्षामा चिट चोर्न नदिएको झोकमा परीक्षार्थीहरुको समूहले रौतहटमा एक शिक्षकको घर तोडफोड गरेका छन् ।
जिल्लाको बसबिट्टी जिंगडिया गाविसमा रहेको मध्य क्षेत्रीय प्रहरी अवाशीय विद्यालयका परीक्षार्थीले गरुडास्थित शिक्षक सञ्जय साहको घर तोडफोड गरेका हुन् ।
चिट चोर्न रोकेकामा आक्रोशित बनेका विद्यार्थीले एसएलसीको अन्तिम दिन शुक्रबार कम्प्युटर विषयको परीक्षा सकिएलगत्तै साहको घरमा आक्रमण गरेका थिए ।
साहले परीक्षामा कडाइ गरेको र चिट चोरेकोबारे सञ्चारमाध्यममा सूचना दिएको भन्दै किन आक्रमण गरेको साहले बताए । पत्नी र बालबच्चासँग बसिरहेका बेला एक्कासि आक्रमण भएपछि घरभित्रै लुकेर ज्यान जोगाएको उनको भनाइ छ ।
स्थानीयले खबर रेपछि गएको प्रहरी टोलीले आक्रमणमा संलग्न केहीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे प्रहरी विद्यालयका प्रधानाध्यापक सिकन्दर महतले माफी मागेका छन् ।
साहको घरमा गएर महतले माफी मागेका हुन् । यसैबीच सञ्चारकर्मीसमेत रहेका साहको घरमा भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाले आपत्ति जनाएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै घटनाका दोषीमाथि कारबाहीको माग गरेको छ ।