मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री भन्दा मन्त्री धनी

काठमाण्डु टुडे २०७० चैत ५ गते ५:४३ मा प्रकाशित

Sushil-Koiralaकाठमाण्डु, ५ चैत – प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नाममा सम्पत्ति नभएको विवरण पेस गरेका छन्।
कोइरालाले घरजग्गा चल सम्पत्ति, ब्यांक तथा वित्तीय संस्थामा रहेको नगद, शेयर तथा धितोपत्र खरिद, सवारीसाधन र कृषि उत्पादन सबै शीर्षकमा केही छैन भनेका छन् भने ऋण लिएको वा दिएकोबारे केही उल्लेख गरेका छैनन्।

सबैभन्दा धनी अर्थमन्त्री महतले सुन ९५ तोला र चाँदी दुई हजार एक सय तोला रहेको विवरण पेस गरेका छन्।
अर्थमन्त्री महतको हिमालयन र स्ट्यान्डर्ड चार्टर्ड ब्यांकमा गरी २५ हजार आठ सय ३४ अमेरिकी डलर मौज्दात छ।

उनी र उनको परिवारका नाममा हिमालय ब्यांकमा १० लाख ९५ हजार, नेपाल ब्यांकमा आठ लाख ८८ हजार, सप्तगण्डकी सहकारीमा ६ लाख ७७ हजार र सात लाख ९६ हजार, इन्भेस्टमेन्ट ब्यांकमा पाँच लाख ५७ हजार, एस डेभलपमेन्ट ब्यांकमा २१ लाख ६० हजार र नागरिक लगानी कोषमा दुई लाख ५५ हजार रुपैयाँ नगद देखिएको छ।
त्यसका साथै करिब २४ लाख रुपैयाँ बराबरको धितोपत्र, सेयर र ऋणपत्र रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ।
विवरणमा अर्थमन्त्री महतले ३० लाख रुपैयाँ नाम नखुलेको व्यक्ति वा संस्थासँग आफ्नो अनुकूलमा तिर्ने गरी ऋण लिएको उल्लेख गरेका छन् भने एभरेस्ट ब्यांकमा ८० लाख ऋण रहेको पनि उल्लेख छ।
महतपछि सुनचाँदी बढी हुनेमा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह छन्। उनको सम्पत्ति विवरणमा सुन ६५ तोला र चाँदी दुई किलोलगायत हीरा, जवाहरात रहेको उल्लेख छ।
सिंहले भाइ र बहिनीको संयुक्त नाममा काठमाडौंमा सात रोपनी, बालाजुमा ३२ रोपनी र जनकपुरमा ३० बिघा जग्गा देखाएका छन्। पत्नी सृजनाका नाममा विभिन्न ब्यांक तथा वित्तीय संस्थामा १९ लाख बराबरको शेयर छ।
नेपाल इन्भेस्टमेन्ट ब्यांकमा दुई करोड ६९ हजार ऋण तिरेको पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। उनले विभिन्न ब्यांकमा झन्डै आठ लाख नगद मौज्दात रहेको देखाएका छन्।
उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले भेगास सिटी बालकुमारीमा दुई फ्ल्याट खरिद गर्न बैनास्वरूप ५० लाख रुपैयाँ दिएको र ललितपुरको छम्पी गाविसमा २०६९ असोज १२ गते २० लाख २५ हजारमा ७ आना दुई पैसा जग्गा खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। विभिन्न ब्यांकमा ९७ लाख रुपैयाँ मौज्दात र आफूसित नगद पाँच लाख भएको गौतमले उल्लेख गरेका छन्।
नबिल ब्यांकबाट एक करोड ऋण लिएकोमा ५० लाख तिर्न बाँकी रहेको गौतमको विवरणमा उल्लेख छ। उनले आफूसँग हुन्डाई आई २० गाडी रहेको पनि विवरणमा उल्लेख गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले आफू र पत्नी अनामिका उपासकका नाममा ३६ लाख ३१ हजार नगद मौज्दात रहेको देखाएका छन्। आफूसँग आठ लाख ४० हजार नगद भएको पनि विवरणमा छ।

विभिन्न कम्पनीमा दुई लाख बराबरको शेयर खरिद गरेको उनले उल्लेख गरेका छन्।
कानून न्याय तथा संविधानसभामन्त्री नरहरि आचार्यले आफ्नो नाममा नगद मौज्दात नदेखाए पनि पत्नी शारदा शर्माको नाममा ३० लाख रुपैयाँ देखाएका छन्। उनले काठमाडौं, तनहुँ र चितवनमा करोडौं मूल्यको जग्गा खरिद गरेको पनि विवरणमा उल्लेख गरेका छन्। काठमाडौं र दमौलीमा एकएकवटा घर रहेको देखाएका छन्।
वनमन्त्री महेश आचार्यले काठमाडौंको नयाँबानेश्वर र विराटनगरमा एकएकवटा घर रहेको विवरण पेस गरेका छन्। उनले राजधानीका विभिन्न ब्यांकमा आफू र परिवारका नाममा ७५ लाख नगर मौज्दात भएको उल्लेख गरेका छन्।
शिक्षामन्त्री चित्रालेखा यादवले ललितपुरका विभिन्न क्षेत्रमा चारवटा घर भएको विवरण पेस गरेकी छन्। उनले विभिन्न ब्यांकमा करिब ३३ लाख रुपैयाँ नगद मौज्दात र करिब २० लाखको सेयर खरिद गरेकी छन्।
दुई व्यक्तिबाट ८५ लाख रुपैयाँ ऋण लिएको विवरण मन्त्री यादवले पेस गरेकी छन्।
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले काठमाडौं र विराटनगरमा एकएकवटा घर देखाएका छन्। उनले विभिन्न ब्यांकमा ६ लाख नेपाली रुपैयाँ र ४७ हजार अमेरिकी डलर मौज्दात रहेको उल्लेख गरेका छन्।
उनले एक करोड १० लाख रुपैयाँका विभिन्न ब्यांक तथा वित्तीय संस्थाको सेयर खरिद गरेको देखाएका छन्।
ऊर्जामन्त्री राधा ज्ञवालीले करिब चार लाखको सेयर खरिद गरेको देखाएकी छन्। उनले बुटवलमा पक्की घर भएको देखाएकी छन्। नौ लाख १० हजार नगद रहेको पनि विवरणमा उल्लेख गरेकी छन्।
सिँचाइमन्त्री एनपी साउदले विभिन्न ब्यांकमा पत्नीका नाममा १८ लाख ५० हजार नगद रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
सहरी विकासमन्त्री नारायण खड्काले आफूसँग करिब चार लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा पेस गरेका छन्। उनले काठमाडौंको हात्तीगौंडामा ४० लाख रुपैयाँमा घर खरिद गरेको पनि उल्लेख गरेका छन्।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले काठमाडौंमा १० आना जग्गामा बनेको घर र १६ लाख नगद मौज्दात भएको विवरणमा उल्लेख गरेका छन्।
स्वास्थ्यमन्त्री खगराज अधिकारीले आफूसँग पाँच लाख नगद मौज्दात रहेको देखाएका छन्। उनले विभिन्न कम्पनीको २० लाख रुपैयाँमा सेयर खरिद गरेको पनि विवरणमा उल्लेख गरेका छन्।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफू र पत्नीसँग ४७ लाख रुपैयाँ मौज्दात भएको उल्लेख गरेका छन्।
उद्योगमन्त्री कर्णबहादुर थापाले काठमाडौंमा घर र ४६ हजार रुपैयाँ नगद मात्रै रहेको देखाएका छन्।
भूमिसुधारमन्त्री दलबहादुर रानाले राजधानीमा एउटा घर र ७० हजार रुपैयाँ नगद रहेको उल्लेख गरेका छन्। कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले १३ लाख नगद मौज्दात र २७ लाख ऋण लिएको देखाएका छन्।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले हेटौंडा, काठमाडौं र निजगढमा घर भएको विवरण पेस गरेका छन्। उनले आफूसँग दुई लाख ५० हजार नगद र चार लाख ५० हजारको सेयर खरिद गरेको देखाएका छन्।
श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले क्षेत्रपाटीमा एक रोपनी १४ आनामा बनेको घर, जग्गा र दुई लाख नगद रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। उनले विभिन्न कम्पनीमा ९० लाख बराबरको सेयर रहेको पनि विवरणमा पेश गरेका छन्।
पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री भीमप्रसाद आचार्यले भने मंगलबारसम्म सम्पत्ति विवरण बुझाएका छैनन्।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us