नलसिंहगाड आयोजनाको भौतिक बन्दै

काठमाण्डु टुडे २०७० चैत ३ गते ११:२१ मा प्रकाशित

काठमाण्डु, ३ चैत । राष्ट्रिय प्राथमिकताप्राप्त नलसिंहगाड जलविद्युत आयोजनाले भौतिक पूर्वाधार निर्माण सुरु गर्न लागेको छ ।

मुलुकमा नदी प्रवाहमा आधारित जलविद्युत आयोजना मात्र सञ्चालनमा रहेका कारण ऊर्जा संकट गहिरिएको बताउँदै गत वर्ष सरकारले जलाशययुक्त आयोजनाका रुपमा सो आयोजनालाई अगाडि बढाएको थियो ।

आयोजनाको निर्माणस्थल रहेको जाजरकोटको खगेनाकोट, कालीमाटी सडक निर्माणको काम आगामी वैशाखदेखि सुरु गर्न लागिएको हो ।

हाल सडक सञ्जाल पुगेको खगेनाकोटबाट आयोजनास्थल कालीमाटीसम्मको ११ किमि सडक निर्माण सुरु भएपछि आयोजनास्थलमा अन्य भौतिक पूर्वाधार निर्माणको काम सुरु हुने कार्यकारी अध्यक्ष शेरबहादुर शाहीले जानकारी दिए ।

कुल ४१० मेगावाट क्षमताको सो आयोजना अगाडि बढाउनका लागि गत आवमा सरकारले ५० लाख तथा चालु आवमा पाँच करोड ६० लाख उपलब्ध गराएको छ ।

आयोजनाले पहिलो चरणमा विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने कामलाई तीव्रता दिने र सोसँगै स्थानीय तहमा भौतिक पूर्वाधार निर्माणको कामसमेत अगाडि बढाउने लक्ष्य राखेको छ ।

त्यसका लागि आयोजनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का लागि गरेको विश्वव्यापी बोलपत्रमा चीन, भारत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, फ्रान्स, अस्ट्रेलियालगायत विभिन्न १४ कम्पनीले आशयपत्र पठाएका छन् ।

हाल ती मुलुकका कम्पनीले पठाएको आशयपत्रलाई छानबिन गरी राखिएको र आगामी जेठको पहिलो हप्तामा गर्ने कम्पनी छनोट गरिने तयारी गरिएको कार्यकारी अध्यक्ष शाहीले जानकारी दिए ।

यस्तै आयोजनाले हाल स्थानीय तहमा सामाजिक/आर्थिक अध्ययन, प्रारम्भिक वातावरणीय अध्ययन, आयोजनास्थलमा जग्गाको छनोटको काम जारी छ । यी सबै कामको प्रारम्भिक प्रतिवेदन आगामी वैशाखको पहिलो हप्ता प्राप्त हुने जनाइएको छ ।

आयोजनाले आयोजनास्थल कालीमाटीमा सम्पर्क कार्यालय स्थापना गरिसकेको छ । सोही कार्यालयमार्फत प्रारम्भिक चरणको काम अगाडि बढिरहेको छ ।

जाजरकोटमा क्रियाशील प्रमुख राजनीतिक दलले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर कामलाई तीव्रता दिन समेत ऊर्जा मन्त्रालयलाई आग्रह गरिसकेका छन् ।

कार्यकारी अध्यक्ष शाहीका अनुसार आगामी जेठदेखि सुरु हुने डिपिआरको काम २५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । छिन्चु –जाजरकोट सडकखण्डबाट केवल २५ किमि टाढा रहेको आयोजनास्थल मध्यपहाडी लोकमार्गबाट पनि सहजै रुपमा पुग्न सकिन्छ ।

नलसिंहगाड नदी भेरीको सहायक नदी भएको र हिउँद वर्षा दुवै समयमा पानीको बहाव उच्च हुने भएकाले दुवै समयमा उल्लेख्य मात्रामा जलविद्युत उत्पादन हुनेछ ।

सो आयोजनाको कुल लागत ७३ करोड ७३ लाख ९३ हजार अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । करिब २०० मि अग्लो बाँध र त्यसैको सहयोगका लागि ५४५ मिटर अग्लो चट्टानी बाँध निर्माण गरिनेछ ।

करिब आठ हजार २१५ मि लामो हेडरेस टनेलमार्फत लगिने पानी स्थानीय खगेनाकोटमा निर्माण हुने विद्युत उत्पादन गृहमा खसाएर १०२.५ मेगावाट क्षमताका चार टर्वाइनबाट ४१० मेगावाट विद्युत् उत्पादन गरिने छ । कुल ११२ किमि लामो ४४० किलोभोल्टको प्रसारण लाइनमार्फत उत्पादित विद्युत्लाई कोहलपुर सबस्टेसनमा जोडिने छ ।

सो आयोजनालाई असाध्यै सस्तो र आर्थिक रुपमा समेत सबल आयोजनाका रुपमा लिइएको छ । आयोजनालाई स्थानीयमैत्री बनाउनका लागि स्थानीय जनताको सहभागितालाई समेत सुरक्षित गर्न लागिएको छ ।

कार्यकारी अध्यक्ष शाहीका अनुसार स्थानीय जनतालाई आयोजनाको कुल लागतको १० देखि १५ प्रतिशत सेयर प्रदान गरिने छ । आयोजनालाई स्थानीय जनताले अपनत्व महसुस गर्नेगरी सेयर प्रदान गर्न लागिएको हो ।

सरकारले चालु आवमा उपलब्ध गराएको रकम पुगेमा प्रारम्भिक चरणमा आयोजना प्रभावितस्थलमा प्रारम्भिक चरणमा मुआब्जा वितरण गर्ने लक्ष्यसमेत राखिएको छ ।

नलसिंहगाड आयोजनालाई विसं २०७७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि जनशक्ति र प्रविधिको अभाव र उचित सरकारी लगानी नहुँदा ढिलाइ हुन पुगेको छ ।

सरकारले सँगै अगाडि बढाएको बूढीगण्डकी आयोजना निर्माणको चरणमा प्रवेश गर्न लाग्दा समेत सो आयोजनाको कुनै उल्लेखनीय प्रगति हुन सकेको छैन ।

सरकारले आयोजनाका लागि एक सचिव, एक इन्जिनियर र दुई अधिकृत तथा केही सहायकस्तरका कर्मचारी मात्रै उपलब्ध गराएको छ । भत्तालगायत अन्य सुविधा कम हुने हुनाले प्राविधिक कर्मचारी आयोजनामा काम गर्न इच्छुक नभएको अध्यक्ष शाहीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us