
काठमाण्डु, १७ फागुन – उपराष्ट्रपति परमानन्द झाले एक वर्षभित्रै संविधान बनाउन गम्भीर भएर लाग्नुपर्ने बताएका छन् ।
सिरहा समाज सेवाले शनिबार सिरहाबाट निर्वाचित सभासद्हरुका लागि गरेको सम्मान कार्यक्रममा उपराष्ट्रपति झाले विगतको संविधानसभाको गल्ती यस पटक नदोहोरिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सभासद् सीतादेवी यादव, पदमनारायण चौधरी, धर्मनाथप्रसाद साह, रामचन्द्र यादव, अजय शङ्कर नायकलगायतले आफूहरु जिम्मेवार भएर संविधान लेखनलाई एक वर्षभित्रै टुङ्ग्याउने तथा सिरहाको विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई पनि सम्मान गरिएको थियो ।