विमस्टेकलाई सार्क नबनाउन सुझाव

काठमाण्डु टुडे २०७० फागुन १७ गते ११:३५ मा प्रकाशित

pararastraकाठमाण्डु, १७ फागुन – परराष्ट्रविद्हरुले बंगाल खाडी प्रभावित राष्ट्रहरुको आर्थिक विकासको फोरमको रुपमा रहेको विमस्टेकलाई सम्झौता कार्यान्वयन पक्ष कमजोर रहेको सार्क जस्तो बनाउन नहुने सुझाव दिएका छन् ।

विमस्टेक बैठकमा सहभागी हुन आईताबारबाट प्रधानमन्त्री सुशील कोइरालाले गर्न लागेको भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबले शनिबार आयोजना गरेको साक्षात्कारमा बोल्दै विज्ञहरुले विमस्टेलाई राष्ट्रिय र क्षेत्रीय हितमा उपलब्धिपूर्ण बनाउनु पर्ने धारणा राखे ।

सो अवसरमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले नेपालको बदलिँदो परिस्थितिमा अन्तर्राष्ट्रिय समर्थन र सहयोग जुटाउन बैठक महत्वपूर्ण अवसर हुने बताए ।

उनले नेपालको जलसम्पदाको विकास, पर्यटन, कृषि र व्यापार सहितका विषयलाई नेपाली जीवनस्तर उकास्ने हिसाबमा अघि बढाउन महत्वपूर्ण पहल हुने भन्दै निर्णय कार्यान्वयन तहमा लैजान सचिवालय गठन, महासचिवको नियूक्ति, जलवायु परिवर्तनविरुद्ध काम गर्ने र साँस्कृति केन्द्र खोल्ने निर्णय हुने जानकारी दिए ।

बैठकको क्रममा मुलुकको दृष्टिकोणबारे अन्तर्राष्ट्रियस्तरमा धारणा बताउन उपयोग गर्नु पर्ने भन्दै उनले द्विपक्षीय सम्बन्ध र विकासका सम्भावनामा छलफल केन्द्रित हुने बताए ।

भ्रमणकै क्रममा प्रधानमन्त्री कोइरालाको भारतका प्रधानमन्त्री डा मनमोहन सिंह, म्यानमारका राष्ट्रपति र बंगलादेशका प्रधानमन्त्रीसँग द्धिपक्षीय भेटवार्ता निश्चित भएको र अरु देशका सरकार प्रमुखहरुसँग कुटनीतिक माध्यमबाट भेटको समय मिलाईने जानकारी दिदै भारतका प्रधानमन्त्रीसँग दुई देशको सम्बन्ध विस्तार, मुलुकको पछिल्लो राजनीतिक स्थिति लगायतका सम्पूर्ण विषयबस्तुहरुमा कुराकानी हुने बताए ।

पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले विमस्टेक बैठक नयाँ प्रधानमन्त्रीको लागि विश्व समुदालयसँग परिचित हुने र एक अर्काको समस्या बुझ्ने अवसर हुने भन्दै यसलाई सद्भाव भ्रमणको रुपमामात्र लिनु पर्ने बताए ।

यस्तै पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले स्वतन्त्र व्यापार क्षेत्र बनाउने विषयमा पहिला नै निर्णय भए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै सम्मेलनलाई पहिलाका निर्णय कार्यान्वयनको हिसाबमा प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

आचार्यले दक्षिण पूर्वी एसीयाली राष्ट्रहरुसँगको सम्बन्ध विस्तारमा भ्रमणलाई प्रयोग गर्नु पर्ने भन्दै पर्यटन विकास, ब्यापार विस्तार, प्रत्यक्ष सम्बन्ध विस्तार र उर्जा विकासको मुद्दालाई नेपालले प्राथमिकता दिनु पर्नेमा जोड दिए ।

परराष्ट्रविद् निश्चलनाथ पाण्डेले साँस्कृतिक केन्द्र खोल्ने, मौसम परिवर्तन सम्बन्धी सेन्टर खोल्ने र सचिवालय खोल्ने निर्णय गर्न राष्ट्रप्रमुख तहमा छलफल गर्ने कुराले विमस्टेकको ऐजेण्डा फितलो भएको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us