मन्त्रालयबारे कांग्रेस-एमाले बीच विवाद कायमै

काठमाण्डु टुडे २०७० फागुन ११ गते १७:४६ मा प्रकाशित

नेपाली कांग्रेस र नेकपा एमालेबीच दुइ सातादेखि गृह मन्त्रालयलाई लिएर देखिएको विवाद टुंग्याउन आइतबार दुबै दलका नेताहरु वार्तामा बसे पनि त्यसले मन्त्रालय बाँडफाँडका विषयमा कुनै निर्णय गर्न सकेन।

एमालेले आफूहरुलाई कांग्रेसले गृह मन्त्रालय दिने भएपछि सरकारमा जाने निर्णय गरेको बताए पनि नेपाली कांग्रेसले भने आफ्नो पार्टीले त्यस्तो कुनै निर्णय नगरेको बताएको छ। प्रधानमन्त्री चयन भएको दुइ साता पुग्दा पनि मन्त्रिपरिषद विस्तार हुन नसकेको बेला आइतबार दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मन्त्रालय बाँडफाँडको विषयमा बैठकमा जुटेका थिए।

गृह नपाएसम्म सरकारमा नजाने भन्ने अडान राख्दै आएको एमालेले गृह आफूहरुलाई दिन कांग्रेस सहमत भएको भन्दै आइतबार बसेको केन्द्रीय कमिटिको बैठकबाट सरकारमा जाने निर्णय गरेको थियो। तर नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्री सुशिल कोइरालासँगै शपथ लिएका विना विभागिय मन्त्री रामशरण महतले भने कुनै पनि मन्त्रालयबारे निर्णय भइनसकेको बताएका छन्। महत भन्छन्, “गृहमात्रै किन? कुनै पनि मन्त्रालयको निर्णय भएको छैन, छलफल जारी छ।”

एमालेको तर्फबाट गृह मन्त्रालय सहित सरकारको नेतृत्व गर्ने भनिएका नेता वामदेव गौतम सहित बसेको बैठक सकारात्मक भनिए पनि कुनै निस्कर्ष ननिस्किएकोले सोमबार बिहान फेरी बस्ने गरि टुंगिएको छ। आइतबार नै एमालेको केन्द्रीय कमिटिको बैठकले सरकारमा जाने भन्ने निर्णय गरेको बताएको छ। तर त्यो निर्णय कांग्रेसको यसअघिको सहमति कार्यान्वयन गर्ने सर्तमा भर पर्ने सचिव शंकर पोखरेलले बताएका छन्। उनी भन्छन्, “गृह मन्त्रालय लगायत सात बुँदे सहमति र मन्त्रालयमा समान साझेदार भएमात्रै सरकारमा जान सकिने निर्णय भएको हो।”

दुई दलबीच लामो रस्साकस्सीपछि गरिएको सहमतिको प्रयास आइतबार सफल नभए पनि दुबै दलका नेताहरु बसेर मन्त्रालय बाँडफाँडको विषय टुंग्याइ सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ। BBC

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us