सोलारमय बन्दै चेपाङ गाउँ

काठमाण्डु टुडे २०७० फागुन ११ गते ११:१८ मा प्रकाशित

चितवन, फागुन– आर्थिक समस्याका कारण टुकी बत्तीको अभावमा साँझ बिहान अन्धकारमै बस्ने चितवनको सबैभन्दा विकट चेपाङ गाउँ कान्दा सोलारमय बन्दै गएको छ ।

कान्दा रूपान्तरण अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था र सरकारी सहयोगमा यहाँ अहिले सोलार बत्ती जडान गर्ने काम भइरहेको स्थानीयले बताएका छन् । कान्दा जान चितवनको सदरमुकाम भरतपुरबाट ३० किलोमिटर सवारी यात्रापछि दुई दिन हिँड्नुपर्छ ।

अहिले भने आधाबाटो जति कच्ची सडक निर्माणको क्रम जारी छ । चितवनको विकट लोथर गाविसको कान्दा गाउँ र कोराक ४ को दिङमाङ क्षेत्रका बासिन्दाले लक्षित गरी सोलार ल्याइएको अभियानकर्ता मितेरी फाउन्डेसनका अध्यक्ष एकल सिलवालले बताए ।

उनका अनुसार यी दुई क्षेत्रमा पहिलो चरणमा आजमात्रै ५० वटा सोलार वितरण गरिएको छ । कान्दामा रहेको ८५ घरधुरीमध्ये बाँकीलाई अर्काे चरणमा सोलार बत्ती वितरण गर्ने सिलवालले जानकारी दिए ।

मितेरी फाउन्डेसन नेपाल र लक्ष्मी प्रतिष्ठानको पहलमा नेपाल सरकारमार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यसरी चेपाङलाई सहयोग गरेको हो ।

विशेषगरी यहाँका चेपाङ अति विपन्न रहेकाले उनीहरूका लागि सोलार आएपछि दैनिकीमा निकै राहत मिलेको स्थानीय शिक्षक बालकृष्ण थपलियाले बताए ।

उनीहरूलाई करिब पाँच लाख ५० हजारको लागतमा सोलार ल्याइएको हो । यसको बजार मूल्य प्रतिघरलाई ११ हजार लाग्ने बताइएको छ । उक्त सोलारबाट तीनवटा बत्ती र टिभिसमेत सञ्चालन गर्न सकिनेछ ।

यहाँका चेपाङ पछिल्लो समयमा आयआर्जनका कार्यक्रममासमेत सरिक हुन थालेका छन् भने बालबालिकालाई विद्यालय पठाउनसमेत अग्रसर देखिएका छन् । चार वर्षअघि यहाँ जङ्गली च्याउ खाएर एकै परिवारका आठ जनाको मृत्यु भएको थियो ।

सोही घटनापछि पत्रकार एकल सिलवालको पहलमा मितेरी फाउन्डेसन संस्थामार्फत कान्दा रूपान्तरण अभियान सुरु गरिएको हो । अहिले गाउँमा स्याउखेती बाख्रापालन, कुखुरापालन तथा तरकारीखेती गरेर चेपाङ आयआर्जनमा सक्रिय बनेका छन् । चितवनका नौ पहाडी गाविसमा चेपाङको बसोबास छ । यहाँ करिब ३५ हजार चेपाङ रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us