कतारले नेपाली श्रमिकको पारिश्रमिक बढाउने

काठमाण्डु टुडे २०७० फागुन ८ गते ७:३० मा प्रकाशित

katarकाठमाण्डु, ८ फागुन – कतारले नेपाली कामदारहरुको पारिश्रमिक बढाउने भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा कतारी श्रममन्त्री अव्दुल्लाहा सलेह अल खुलैफीले तत्काल नेपाली कामदारको पारिश्रमिक समयसापेक्ष बनाउने प्रतिवद्धता जनाएका हुन् ।

भेटमा प्रचण्डले नेपाली कामदारहरुको पारिश्रमिक वृद्धि र उनीहरुको सुरक्षाका लागि आग्रह गरेका थिए । जवाफमा कतारी श्रममन्त्रीले तत्काल पारिश्रमिक वृद्धि गर्ने र सुरक्षाको लागि आफ्नोतर्फबाट पहल गर्ने आश्वासन दिएको भ्रमण दलका एक सदस्यले जानकारी दिए ।

सो अवसरमा कतारी श्रममन्त्रीले विभिन्न कानुनी जटिलताका कारण नेपालबाट मागेको समयमा कामदार आउन नसकेको भन्दै प्रचण्डको ध्यानाकर्षण गराएका थिए । साथै उनले दक्ष कामदार पठाउन आग्रह पनि गरेका छन् ।

जवाफमा प्रचण्डले आफू नेपाल फर्किए लगत्तै श्रम र परराष्ट्र मन्त्रालयसँग यसबारे कुराकानी गर्ने बताएका छन् । भेटमा प्रचण्डसँगै एमाओवादी प्रवक्ता दिनानाथ शर्मा, पूर्वश्रममन्त्री एवम् एमाओवादी नेता लेखराज भट्ट र प्रचण्डका स्वकीय सचिव चुडामणी खड्का सहभागी थिए ।

कतार भ्रमणका क्रममा प्रचण्डले नेपाली कामदारहरुको समस्या समाधानका लागि पहल स्वरुप कतारी श्रममन्त्रीलाई भेटेका हुन् ।

कतारमा साढे ३ लाख नेपाली कामदार रहेको सरकारी तथ्याङ्क रहेपनि ६ लाख बढी कामदार रहेको अनुमान छ । त्यहाँ कतिपय नेपाली कामदारहरु  मासिक १० हजार नेपाली रुपैयाँसम्ममा पनि कामगर्न बाध्यछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us