युवकले घरमै बनाए बिजुलीको ट्रान्समिटर

काठमाण्डु टुडे २०७० फागुन ८ गते ६:२३ मा प्रकाशित

दार्चुला, फागुन – दार्चुलाको ग्वानी गाविस वडा नं ७ लेकगाउँका एक युवकले घरमा आफैँले बिजुलीको ट्रान्समिटर निर्माण गरेका छन् ।

गोकुलेश्वर बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका २७ वर्षीय नरेश रावलले घरमै आवश्यक सामान मगाई आफैँले बिजुलीको ट्रान्समिटर निर्माण गरेका हुन् ।

ग्वानी–८ बरमुडेमा निर्माण गरिएको बरमुडे लघुजलविद्युत्मा अपरेटरको कामसमेत गर्दै आएका रावलले धनगढीबाट सामान मगाएर बिजुलीको ट्रान्समिटर निर्माण गरेको बताए । लघुजलविद्युत्मा काम गर्न थालेपछि बिजुलीका लाइनहरु जडान गर्न विभिन्न जिल्ला घुम्ने क्रममा आफूले ट्रान्समिटर बनाउने सीप सिकेको उनले बताए ।

रावलले २० हजार मूल्यबराबरका दुईवटा ट्रान्समिटर निर्माण गरेका छन् । रावलले बनाएका ट्रान्समिटर अहिले बरमुडे लघुजलविद्युत्का दुईवटा पोलमा जडान गरिएका छन् । ट्रान्समिटर जडान गरिएपछि विद्युत् लाइन रातभरि बिनाअवरोध सञ्चालन भएको रावलले दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us