सामुदायिक र राष्ट्रिय वनमा चोरी–सिकारी बढ्दै

काठमाण्डु टुडे २०७० फागुन ८ गते ६:१० मा प्रकाशित

Jungleदार्चुला, ८ फागुन – सरकारले राष्ट्रिय वनको संरक्षण गर्न सामुदायिक वनको अवधारणा लागू गरी समुदायलाई वन हस्तान्तरण गरेपनि सामुदायिक वन संरक्षण हुनुको साटो यहाँ सामुदायिक तथा राष्ट्रिय वनमा दिनानुदिन चोरी–सिकारी बढ्दै गएको छ ।

अहिले दार्चुलामा जिल्ला वन कार्यालयअन्तर्गत कुल १६३ र अपिनाम्पा संरक्षण क्षेत्रअन्तर्गत ११२ गरी २७५ सामुदायिक वन रहेका छन् ।

जिल्लामा रहेका राष्ट्रिय वन दिनानुदिन मासिँदै गएका छन् भने यहाँका वन जङ्गलमा अवैधरूपमा चोरी–सिकारी पनि बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन् ।

जिल्लाको लेकम क्षेत्रमा पर्ने धाप, भगवती, ग्वानी, मालिकार्जुन र रानीशिखर गाविसमा रहेका सामुदायिक र राष्ट्रिय वनमा अनुमतिप्राप्त हतियार र पासो थापेर अवैध रूपमा वन्यजन्तुको सिकार गर्ने क्रम बढेको भए पनि सम्बन्धित निकायको त्यसतर्फ ध्यान जान नसकेको एक स्रोतले बताएको छ  ।

खुला सीमा–नाका र भौगोलिक विकटताका कारण दार्चुलामा चोरी–सिकारीमा वृद्धि भएको हुनसक्ने बताउँदै जिल्ला वन अधिकृत चन्द्रदेवलाल कर्णले अवैधरूपमा चोरी सिकारी गर्ने जोकोहीलाई वन ऐनअनुसार कडा कारबाही गरिने दृढता व्यक्त गरे ।

चोरी–सिकारी नियन्त्रणतर्फ उपभोक्ताले लापरबाही गरेका कारण समस्या आएको कर्णको भनाइ छ । वन र वन्यजन्तुको संरक्षणका लागि स्थानीय उपभोक्ताहरू नै जागरुक हुनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us