प्रहरीले भारतीय एन्टेना नियन्त्रणमा लिँदै

काठमाण्डु टुडे २०७० फागुन ८ गते ६:०१ मा प्रकाशित

सिरहा, ८ फागुन – नेपालमा गैरकानुनी रूपमा प्रयोग गर्दै आएका भारतीय एन्टेना तथा मोबाइल नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय लहानले अभियान चलाएको छ । अभियानका क्रममा लहान नगरपालिका–२ र ४ बाट आठ थान एन्टेना नियन्त्रणमा लिइएको छ ।

भारतीय नम्बरको मोबाइल नेपालमा प्रयोग गर्नु गैरकानुनी हो भन्दै सम्झाएर एन्टेना नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

‘आइन्दा भारतीय नम्बर प्रयोग गरेको देखिए कानुनबमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएका छौँ,’ उनले भने । लहान नगरपालिकामा २०० भन्दा बढी सर्वसाधारणले एन्टेना राखेर भारतीय नम्बरको मोबाइल बोक्ने गरेको प्रहरीको दाबी छ ।

एन्टेना लगाएर भारतीय नम्बरको मोबाइल बोक्दा नेपाल सरकारको राजस्व छली हुने र नेपालमै बसेर धम्की दिनेजस्ता प्रवृत्ति पनि बढेपछि नियन्त्रणमा लिने अभियान चलाइएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us