दुई दिनदेखि हिउँले पुरिएका तीन जनाको जिवितै उद्धार, एक जना मृत फेला

काठमाण्डु टुडे २०७० फागुन ६ गते ११:५२ मा प्रकाशित

Himpatकाठमाण्डु, ६ फागुन – दोलखाको कालिञ्चोक भगवतिको दर्शन गर्न गएकी एक बालिकाको हिउँले पुरिएर मृत्यु भएको छ । उनीसँगै गएका परिवारका अन्य तीन सदस्यको भने गम्भीर बिरामी अवस्थामा जिवितै उद्धार गरिएको छ ।

दोलखाको बाबरे गाविस वडा नं. ८ सिस्नेरी स्थायी घरभई दार्जिलिङ बस्दै आएका एकै परिवारका ४ जना गत आईतबारदेखि बेपत्ता भएका थिए ।

खोजीका क्रममा नेपाली सेना र प्रहरीको टोलीले मंगलबार अपराह्न ४ बजेपछि ३ जनालाई जिवित र एक जनालाई मृत अवस्थामा भेटेको हो । जिवित भेटिएकाहरुको पनि हातखुट्टा हिउँले खाएको र चिसोले गम्भीर बिरामी परेको उद्धार टोलीले जनाएको छ ।

३५ वर्षिय विष्णुप्रसाद खतिवडा, श्रीमती सिर्जना र छोरा नविन गम्भीर विरामी अवस्थामा भेटिएपनि छोरी १३ वर्षिया नविना भने मृत भेटिएको दोलखाका डिएसपी सुरेस काफ्लेले जानकारी दिए । जिवित उद्धार गरिएका तीनै जनाको अहिले प्राथमिक उपचार भइरहेको र केहीबेरमा सदरमुकाम हुँदै राजधानी पठाईने उनले बताए ।
गत आईतबार कालिञ्चोक भगवतिको दर्शन गर्न भन्दै घरबाट निस्किएका उनीहरु दुई दिनपछि मात्रै भेटिएका हुन् । मन्दिर दर्शन गरेर फर्किने क्रममा बाटो भुलेपछि उनीहरु घोर्थली जंगलमा अलपत्र परेका थिए । सोही रात त्यस क्षेत्रमा भारी हिमपात भएको थियो ।

बाटो भुलेपछि उनले दाजु तोयानाथ खतिवडालाई फोनसम्पर्क गरी आफूलाई बचाउन आग्रह गरेका थिए । ‘मलाई फोन आएको थियो, दाजु तोयानाथले भने, ‘हामीले बाटो भुल्यौं, राति भइसक्यो, हिउँ परेकाले ओडारमा बसेका छौं, छोराछोरीको अवस्था निकै दयनीय छ, हामीलाई बचाउनु प¥यो भनेपनि त्यसपछि सम्पर्क हुन सकेन ।’

सो कुरा उनले प्रहरीलाई जानकारी गराएका थिए । त्यसपश्चात सोमबार राति १० बजेपछि प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि खटिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us