हवाई सुरक्षा र मापदण्ड कार्यान्वयनबारे अध्ययन सुरु

काठमाण्डु टुडे २०७० फागुन ६ गते ८:२० मा प्रकाशित

planeचितवन, ६ फागुन – चितवनको भरतपुर विमानस्थल वरपर हवाई सुरक्षाको मापदण्डबारे अनुसन्धान सुरु गरिएको छ । चितवन प्रशासन, भरतपुर विमानस्थलका प्रतिनिधि र भरतपुर नगरपालिकाको संयुक्त टोलीले हवाई सुरक्षा र मापदण्ड लागू भए/नभएकोबारे अनुसन्धान सुरु गरेको हो ।

अनुसन्धान टोलीले एक महिनापछि प्रतिवेदन बुझाउने गरी काम थालिएको भरतपुर विमानस्थलका प्रमुख बच्चुराम श्रेष्ठले जानकारी दिए । मापदण्डविपरीतको भौतिक संरचनाका कारण हवाई सुरक्षामा चुनौती थपिएपछि यहाँ सरोकारवालाले चासो दिएका छन् ।

मापदण्डविपरीत दर्जनौँ घरहरु निर्माण भएपछि हवाई सुरक्षामा चुनौती बढेको भन्दै मापदण्ड लागू गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । विमानस्थलको मापदण्डभित्र पर्ने क्षेत्रमा तीन, चार तलासम्मका घर निर्माण भएकाले सुरक्षामा गम्भीर असर परिरहेको विमानस्थलका प्रमुख श्रेष्ठले जानकारी दिए ।

सुरक्षामा खतरा बढ्दै गएपछि चितवन प्रशासन, विमानस्थल प्रशासन र भरतपुर नगरपालिकाका अधिकारीहरुले सो क्षेत्रको अध्ययन तथा अनुगमन गर्न थालेका हुन् ।

विमानस्थलको दायाँबायाँ पाँच हजार ५०० मिटर वरपर र जहाज आउने–जाने दुई क्षेत्रमा १५÷१५ किलोमिटर क्षेत्रमा मापदण्ड लागू हुन्छ । तर यो क्षेत्रमा भरतपुर नगरपालिकाले पारित गरेको नक्साविपरीत नै घर बनेको पाइएको छ । नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ अनुसार विमानस्थलबाट दायाँबायाँ १०० मिटर परसम्म १४ मिटर मात्र अग्लो भौतिक संरचना निर्माण गर्न पाइने छ ।

यस्तै, विमान आवतजावत गर्ने क्षेत्रमा विमानस्थलबाट ५०० मिटर परसम्म एक तलेभन्दा बढी उचाइको घर बनाउन नपाइने नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर प्रदीप अधिकारीले बताए ।

भरतपुर नगरपालिकाले दिएको अनुमति बेगर कानुनविपरीत भौतिक निर्माण भइरहेको नगरपालिकाका प्रमुख नारायण सापकोटाले बताए । अनुगमनको प्रतिवेदनअनुसार मापदण्डको विषयमा ठोस निर्णय लिइने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us