विमान दुर्घटनाबारे छानबिन समिति गठन

काठमाण्डु टुडे २०७० फागुन ६ गते ०:३७ मा प्रकाशित

काठमाण्डु, ६ फागुन – अर्घाखाँचीमा भएको विमान दुर्घटनाको कारणबारे छानबिन गर्न सरकारले सोमबार नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरेको छ। उक्त दुर्घटनामा विमानमा सवार सबै १८ जनाको मृत्यु भएको छ।

‘’नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको अध्यक्षतामा गठित समितिमा क्याप्टेन प्रभाकर घिमिरे र इञ्जिनियर मेगेन्द्रलाल कर्ण सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका छन्,‘’ नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरि शर्माले बताए।

शर्माकाअनुसार, छानबिन समितिले ९० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउनुपर्ने छ। खोजी कार्यमा खटिएका सुरक्षाकर्मीहरुले घटनास्थलबाट दुर्घटनाग्रस्त ट्वीन अटर विमानको ककपिट भ्वाइस रेकर्डर फेला पारेको अधिकारीहरुले बताएका छन्। अर्घाखाँचीमा भएको विमान दुर्घटनामा मृत्यु भएका चालक दलका ३ सदस्यसहति सबै १८ जनाको शव सेनाको हेलिकप्टरबाट राजधानी काठमाण्डौं ल्याइएको छ।

पोष्टमार्टमका लागि शवहरु राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको शर्माले बताए। मृत्यु हुनेमा एक नाबालक र डेनमार्कका एक जना नागरिक समेत छन्।आईतबार दिउँसोबाट हराइरहेको नेपाल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त अवस्थामा सोमबार बिहान मात्र फेला परेको थियो।

खोजी कार्यमा खटिएको सेनाको हेलिकप्टरले अर्घाखाँचीको मसिनेलेकमा विमान फेला परेको जानकारी गराएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार समन्वय केन्द्रका संयोजक विमलेश कर्णकाअनुसार, घटनास्थल थाहा भईसकेपछि पनि भौगोलिक विकटताका कारण शवहरु संकलन गर्न निकै कठिनाई भएको थियो।

आईतवार दिउंसो पौने एक बजेतिर पोखराबाट जुम्लाका लागि उडेको ट्वीन अटर विमानका चालकले १ बजेर १३ मिनेट जाँदा अन्तिम पटक भैरहवा विमानस्थलसंग रेडियो मार्फत कुराकानी गरेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले बताएका थिए।त्यसपछि सम्पर्कविहीन हुन पुगेको सो विमानको खोजी अर्घाखांची र बाग्लुंगको विभिन्न पहाडी क्षेत्रमा गरिएको थियो।

विमानको खोजीका लागि आईतबार देखि नै दुई वटा हेलिकोप्टर खटाइएको थियो तर मौसमले साथ नदिएपछि सोमबार बिहानमात्र विमानको भग्नावशेष पत्ता लाग्यो।

आलोचकहरुले नेपाली हवाई उड्डयनको सुरक्षा कमजोर रहेको भन्दै आलोचना गर्दै आएका छन्।युरोपेली संघले नेपाली एयरलाईन्सहरुलाई कालोसूचीमा राखेको तीन महिना नबित्दै भएको आईतबारको दुर्घटनाले थप नकारात्मक सन्देश जाने देखिन्छ। BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us