सहमतिमा सभाध्यक्ष चयनको सम्भावना समाप्त

काठमाण्डु टुडे २०७० फागुन ५ गते ११:५४ मा प्रकाशित

काठमाण्डु, ५ फागुन–  संविधानसभा अध्यक्षका लागि राजनीतिक सहमति नभएपछि सहमतीय प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि सोमबार कसैको पनि उम्मेदवारी दर्ता भएन ।
ca houseसहमति प्रयासमा संविधानसभा भवन नयाँबानेश्वरमा बसेको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएपछि कसैको पनि उम्मेदवारी नपरेको हो ।

बैठकमा काँग्रेस–एमालेले एमाले नेता सुवास नेम्वाङलाई समर्थन गर्न आग्रह गरेका थिए । तर एकीकृत माओवादीसहित विपक्षी गठबन्धनले सभाध्यक्ष एकीकृत माओवादीले पाउनुपर्ने बताए ।

बैठकबाट बाहिरिने क्रममा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शक्ति सन्तुलनका लागि समेत सभाध्यक्ष आफूहरुले पाउनुपर्ने बताए । यसअघि पनि शक्ति सन्तुलन मिलाउनकै लागि तेश्रो शक्ति एमालेलाई सभाध्यक्ष दिइएको स्मरण उनले गरे ।
संसद् सचिवालयले सहमतिका आधारमा सभाध्यक्ष चयनका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । संविधानसभाका महासचिव महासचिव मनोहरप्रसाद भट्टराईले सहमतीय आधारमा कसैको पनि उम्मेदवारी नपरेको बताए ।

दलीय सहमति नभएपछि संविधानसभा अध्यक्षका लागि निर्वाचन कार्यतालिकाअनुसार मंगलबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सभाध्यक्ष चयनका लागि भोलि साँझ ५ बजे व्यवस्थापिका–संसदमा मतदान हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us