जेनेभा वार्ता विना प्रगति अन्त्य

काठमाण्डु टुडे २०७० फागुन ३ गते १६:०१ मा प्रकाशित

सिरिया सरकार तथा विपक्षी समूहहरुबीच जेनेभामा भैरहेको दोश्रो चरणको वार्ता विना कुनै प्रगति टुँगिएको छ। वार्तामा प्रगति नभएकोमा राष्ट्र संघीय मध्यस्थकर्ता लखदर ब्राहिमीले सिरियाली जनतासँग क्षमा मागेका छन्।

दोश्रो चरणको वार्ता शनिबार केही मिनटमै अचानक टुंगिएको थियो।ब्राहिमीले तेश्रो चरणको वार्ताकालागि कुनै मिति तय नगरिएको बताए।उनले भने, “विना उद्देश्य भेटनुभन्दा दुबै पक्षले उनीहरु यो प्रकृया जारी रहोस् भन्ने चाहन्छन् कि चाहँदैनन् भनेर केही समय सोंचविचार गर्नु राम्रो हुनेछ।”ब्राहिमीले सिरियामा संक्रमणकालीन सरकार गठन लगायत वार्ताका एजेण्डालाई सरकारी पक्षले स्वीकार नगरेका पनि बताए।

जेनेभामा वार्तारत सिरिया सरकार तथा विद्रोही पक्षले एक अर्काप्रति आरोप, प्रत्यारोप गरिरहँदा वार्ता स्थगित भएको हो।सिरियाली सरकारी प्रतिनिधिमण्डलले विद्रोहीहरुका माग यथार्थमा आधारित नरहेको बताएपछि छलफल निष्कर्षहीन बन्न पुगेको थियो।दुबै पक्ष बीच प्रत्यक्ष वार्ता गराउन ब्राहिमीले निकै कसरत गर्नुपरेको थियो।

जेनेभास्थित बीबीसीकी संवाददाता भन्छिन्, दुबै पक्ष आफ्नो अडानमा कायमै छन् र गृह युद्ध अन्त्य गर्न विश्वका प्रमुख शक्तिहरुले अनुमोदन गरेको एउटा प्रारम्भिक सहमतिलाई आआफ्नै ढङ्गले व्याख्या गरिरहेका छन्।उक्त सहमतिमा सिरियामा पूर्ण अधिकार सहितको एउटा संक्रमणकालीन सरकार गठन गर्न आह्वान गरिएको थियो।तर सरकारी पक्ष राष्ट्पति असदले सरकार छाडने कुनै पनि विषयमा छलफल गर्न तयार देखिँदैन।

वार्तालाई सकारात्मक दिशातिर अगाडि बढाउन रुस र अमेरिकाको महत्वपूर्ण भूमिका हुने ठानेर ब्राहिमीले दुबै पक्षका कूटनीतिज्ञहरुलाई भेटेका थिए।रुस असद सरकारलाई हातहतियार आपूर्ति गर्ने प्रमुख मुलुक हो। त्यस्तै राष्ट्रसंघ सुरक्षा परिषदमा सिरिया सरकार विरुद्ध ल्याइएका प्रस्तावहरुलाई पनि उसले नै निरस्त गरीदिने गरेको छ। त्यस्तै सिरियाका विपक्षी तथा विद्रोही समूहहरुलाई अमेरिका लगायत पश्चिमा मुलुकहरुले नैतिक एवम् भौतिक समर्थन प्रदान गरिरहेका छन्।

गत जनवरी २२ तारिखमा जेनेभामा वार्ता शुरु भएयताको प्रमुख उपलब्धि भनेको सरकारी सेनाको घेरावन्दीमा रहेको होम्स शहरबाट सैयौं सर्वसाधारणलाई बाहिर निकालिनु हो।त्यहाँ राष्ट्रसंघको संयोजनमा सहायता सामग्रीहरु पनि पुराईएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाको असद सरकारमाथि थप दबाब बढाउने उपायहरु बारे आफ्नो सरकारले विचार गरिरहेको बताएका छन्।क्यालिफोर्नियामा जोर्डनका राजा अब्दुल्लाहसंग कुरा गर्दै उनले भने, “हामीले यो समस्या अल्पकालिन समयमा छिटै टुंगिने अपेक्षा गरेका छैनौं। त्यसैले सिरियाको मानवीय स्थितिमा सघाउन हामीले केही तत्कालिन कदमहरु चाल्नुपर्छ।”तर ती कदमहरु के के हुनेछन् भन्ने बारे चाहिं उनले केही बताएका छैनन्।

गत मार्च २०११ मा सिरियामा द्वन्द्व शुरु भएयता एकलाख जना भन्दा बढीको ज्यान गैसकेको छ।द्वन्द्वका कारण पन्चान्नब्बे लाख भन्दा बढी मानिसहरु विस्थापित भएका छन्। BBC

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us