तालिवान लडाकूको रिहाइसँगै अफगानिस्तानमा चर्कियो विवाद

काठमाण्डु टुडे २०७० फागुन ३ गते ९:३४ मा प्रकाशित

 काठमाण्डु, ३ फागुन– अफगानिस्तानको बाग्राम बन्दीगृहमा रहेका ६५ जना बन्दीलाई हालै मात्र अफगानिस्तान सरकारले मुक्त गरेको घटनाले अमेरिका र अफगानिस्तानका बीचमा पुनः विवाद सुरु भएको छ । सन् २०१४ को अन्त्यपछि पनि अफगानिस्तानमा अमेरिकी सैनिक राख्नुपर्ने अमेरिकी प्रस्तावमा अफगानिस्तानले सहमति नजनाएका कारण विवाद जारी रहेकै बेला यो पछिल्लो विवादको विषय बनेको छ ।

ती बन्दी रिहाइको मात्र नभएर आजभोली बिबिसि, सिएनएनलगायत बिश्व सञ्चार माध्यममा अफगान अमेरिका सम्बन्धको निकै ठूलो चर्चाको बिषय बनेको छ । राष्ट्रद्रोही, खतरनाक प्रकृतिका, अमेरिकी वा नेटो आबद्ध बहूराष्ट्रिय सेनाका जबानहरुलाई मारेको वा क्षति पु(याएको भन्ने अभियोग दावी गर्दै अमेरिकी सेनाले हेलमान्ड, गजनी, कान्दहार, बारदाक, काबुल, अन्दार, नर्खलगायत बिभिन्न प्रान्त, जिल्ला वा स्थानहरुबाट थुप्रै ब्यक्तिहरुलाई नियन्त्रणमा लिई अफगानिस्तान प्रहरीलाई जिम्मा लगाएको थियो ।

यस्ता बन्दीहरुलाई त्यत्तिकै मुक्त गर्दा युद्धरत अमेरिकी र बहूराष्ट्रिय सेनाको मनोबल गिर्ने र ती बन्दीहरु पुन युद्धमा फर्किने बलियो सम्भावना रहेको भन्दै अफगानिस्तानस्थित अमेरिकी सैनिक कार्यालयले असन्तोष प्रकट गरेको छ । यसैहप्ता मात्र कान्दहार प्रान्तको दक्षिणी इलाका अर्गाण्डब, माइवाण्ड, झारे र पान्ज्वाईमा जमीन मुनि बनाइएको बिद्युतीय धराप र लुकाई राखेको ७६ वटा शक्तिशाली बम अफगान राष्ट्रिय सेनाले फेला पारी त्यसलाई निष्क्रिय बनाएको थियो ।

बिगतका केही बर्षयता अफगानिस्तानमा तालिबानी बिद्रोहीले घरेलुस्तरमा निर्मित अधिक शक्तिशाली ईम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइ.ई.डि.)लाई आत्मघाती आक्रमण, बिध्वंशात्मक, आतंककारी गतिबिधि वा अफगानी तथा बहूराष्ट्रिय सेनाको यातायात अवरुद्ध पार्न मूल सडकको छेउछाउमा प्रयोग बढाउँदै लगेका छन् ।

प्राय यस्ता धराप र बिस्फोटनमा परी सैनिक मात्र नभई बर्षेनी हजारौंको संख्यामा निर्दोष सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् । गत बर्षको संयुक्त राष्ट्रसंघीय तथ्याङ्कलाई हेर्ने हो भने यसरी धराप र बिस्फोटनमा परी २,९०० जना सर्वसाधारणले ज्यान गुमाएका र करीब ५,७०० जनाको अङगभङग भएको वा नराम्ररी घाइते भएका थिए ।

अमेरिकी वा नेटो आबद्ध बहूराष्ट्रिय सैनिकले खतराजन्य ब्यक्तिहरुलाई नियन्त्रणमा लिंदै जाने, तर अफगान सरकारले त्यस्ता कैदी एवम् बन्दीहरुलाई जथाभावी मुक्त गर्दै जाने हो भने बहूराष्ट्रिय सेना र अफगानिस्तान सरकारबीचको सम्बन्ध चिसिंदै जाने र हालसम्म असंख्य अमेरिकी तथा नेटो सैनिकको परिश्रम र बलिदानको के अर्थ रहने भन्ने कुरा पनि अमेकिी सैनिकले उठाएका छन् ।

अफगानिस्तानमा स्थायी शान्ति कायम गर्ने तर्फ अवरोध आउन सक्ने छ । छाडिएका कैदी बन्दीहरु एकत्रित भै अमेरिकी वा बहूराष्ट्रिय सेना वा अफगानिस्तानकै राष्ट्रिय सेना बिरुद्ध धावा बोल्नसक्ने छन् । त्यस्ता कैदी बन्दीहरुलाई तालिवान वा अन्य आतङ्कबादी संगठनले नियन्त्रणमा लिई ललाई फकाई वा डर त्रास देखाई आतङ्कबादी गतिबिधिमा पुनः प्रयोग गर्ने बलियो सम्भावना रहेको छ ।

यस्तो गतिबिधिले अफगानिस्तानमा कार्यरत नेटो सेना वा आफैं अफगानिस्तान सरकार र सर्बसाधारण अफगानिस्तानी जनताको ठूलो टाउको दुखाई हुने चेतावनी दिंदै अफगानिस्तानस्थित अमेरिकी सेनाको कार्यालयले सार्बजनिक रुपमै सरकारको आलोचना गरेको छ ।

पहिले पनि यसैगरी मुक्त गरिएका मध्ये कतिपय कैदी बन्दीहरु बिद्रोही भएर पुन युद्धमा होमिएकाले पनि सरकारले यसरी बिद्रोही उत्पादन गर्ने कारखाना खोलेको भन्ने आरोप पनि लगाएका छन् । उनीहरुलाई मुद्दा चलाई अफगानिस्तानको कानून बमोजिम उचित सजाय दिनुपर्नेमा त्यसो नगरी ठाडै उन्मुक्ति दिनाले आफूहरुको अपमान भएको भनी अमेरिकी सेनाले अफगानिस्तान सरकार बिरुद्ध आक्रोश पोखेको छ ।

यता अफगानिस्तान सरकारले भने तिनीहरु बेकसूर रहेका, आतङ्कबादी वा बिध्वंशात्मक गतिबिधिमा लागेको नपाइएको जनाएको छ । मुक्त गरिएका ती व्यक्तिहरु कृषक, मजदूर वा अन्य बैध र कानूनद्वारा निषेधित नभएका पेशा अपनाई जीवन यापन गर्ने सर्बसाधारण आम नागरीक भएका समेत बताइएको छ । आशङ्काकै भरमा मात्र आफ्ना निर्दोष नागरिकहरुलाई लामो समय सम्म जेलमा सडाएर राख्दा उनीहरुमाथि अन्याय हुनजाने तर्क सरकारले दिएको छ ।

साथै उनीहरु बिरुद्ध मुद्दा चलाउन यथेष्ट प्रमाण नपुगेको, ८८ जना बन्दीहरु मध्ये हाल ६५ जनालाई मुक्त गरिएको र प्रकृया पु(याई बाँकी २३ जनालाई पनि चाँडै नै छाडिने र छाडिएकाहरुको उचित निगरानी गरिने भनी अफगानिस्तान सरकारी श्रोतले बताउँदै आएको छ ।

अफगानिस्तनको सरकारले आशङ्काको भरमा वा झिना मसिना गल्तीका कारण वा बहूराष्ट्रिय सेनाको भूलले आफ्ना धेरै नागरिकलाई लामो समयसम्म नियन्त्रणमा लिई कारवाही चलाउँदै जाने हो भने अफगानिस्तानका कारागारहरु बिद्रोही उत्पादन गर्ने कारखाना सरह बन्न पुग्ने भएकाले यस्तो प्रबृत्तिको अन्त्य गरिने कुरा अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले बताएका छन् ।

अफगानिस्तानको बिगतका केही दशकका इतिहास र केही पहिलाको घटनाक्रमलाई हेर्ने हो भनेपनि अमेरिकाको न्युयोर्क, म्यानहाट्टनस्थित विश्वप्रसिद्ध “ट्विन टावर” मा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमण र आगलागीबाट सो टावर धराशायी भएपछि सन् २००१ अक्टोबर ७ बाट अफगान युद्ध आरम्भ भएको हो ।

अल–कायदा आतङ्ककारी सन्जालका मुख्य नाइके र “ट्विन टावर” आक्रमणका योजनाकार ओसामा बिन लादेनलाई खोज्न अफगानिस्तानमा पहिला अमेरिकी सेना भित्रिएको र त्यसको केही समय पश्चात् उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) आवद्ध मुलुकका सैनिकको सहयोगमा अमेरिकाले सैनिक कारबाही तीब्र पारेको हो ।

अमेरिकी नेतृत्वमा सुरु भएको अफगान युद्धमा नेटो योद्धाका रूपमा ४२ राष्ट्रका सैनिक रहेका थिए । हाल अफगानिस्तानमा करिब एक लाखको सङ्ख्यामा अमेरिकी तथा नेटो आवद्ध अन्तराष्ट्रिय सुरक्षा सहयोग बलका सैनिक रहेका छन् ।

ईस्लाम धर्मको दुहाई दिएर ललाई फकाई वा डर,त्रास देखाई सोझा सीधा आदिबासी, जनजाति अफगानी जनतालाई आफ्नो पक्षमा लिंदै सशस्त्र विद्रोह गरी त्यहाँबाट अमेरिकी र नेटो आवद्ध सेनालाई लखेट्ने र अफगानिस्तानलाई आफ्नो सबभन्दा सुरक्षित स्वर्ग बनाउने उद्देश्य लिएर तालिवानी आतंककारीले सशस्त्र विद्रोह र निर्भयतापूर्वक आत्मघाती युद्ध सन्चालन गर्दै यस मुलुकलाई तहस नहस पार्दै आइरहेका छन् ।

अफगानिस्तान भित्रका कतिपय विकट र अभेद्य दुर्गम पहाडी भूमिमा अमेरिकी नेटो आवद्ध सेनाले हतियार सहित सजिलै आवतजावत गर्न नसक्नु, भिर, पहाड, कन्दरा, चट्टान र गुफामा सुरक्षित भई लुक्न वा चलखेल गर्न आतंककारी विद्रोहीले प्रशस्त अवसर पाउनु तथा दक्षिणी सीमा जोडिएको पाकिस्तानपट्टिको त्यस्तै विकट र अभेद्य दुर्गम पहाडी भूमिमा आतंककारी विद्रोहीहरु सजिलै आवतजावत गर्न सक्नु ईत्यादि कारण अमेरिकी तथा नेटो आवद्ध सेनाले अफगानिस्तानमा आतंककारीहरुलाई निर्मूल गर्ने सफलता पाउन सकि रहेको छैन ।

आईक्याजुएल्टिज नामक वेबसाइटव्दारा प्रकाशित तथ्याङ्कअनुसार अफगानिस्तानमा सन् २०१४ को १५ जनवरी सम्ममा ३ हजार ४१५ जना नेटो आवद्ध र २ हजार १६१ जना अमेरिकी सैनिकको ज्यान गै सकेको छ । तालिवान आतङ्ककारीसँग युद्धरत नेटो सैनिकहरु सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट फिर्ता  भइसक्ने नेटो संलग्न सबै देशले केही अघि नै घोषणा गरिसकेका छन् ।

त्यसपछिका दिनमा अफगानिस्तानमा के शान्ति आउला र अफगान सरकारी सैनिकले मात्र शान्ति कायम राख्न सम्भव होला भन्ने प्रश्न विश्व सामु लामो समयदेखि खडा रहेको छ । अफगानिस्तानमा जारी रहेको हिंसाको प्रकृति हेर्दा भने त्यहाँ शान्तिको आशा कमैमात्र देखिन्छ । वर्तमान राष्ट्रपति हमिद कारजाइले शान्ति स्थापना गर्न कैयौँ प्रयास गरेपनि ती सफल नहुँदा देश तालीवानी आतङ्ककारीको सुरक्षित रणभूमि बनेको छ । नागरिक हताहतिको समाचारले अफगानिस्तानमा अति साधारण दैनिक समाचारको रुपमा स्थान ओगटेको हुन्छ ।

सन् २००४ मा अफगानिस्तानमा भएको आमनिर्वाचनमा हालका राष्ट्रपति हमिद कारजाइ विजयी हुनुभएपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद््द्वारा अफगान, अमेरिकी तथा नेटोसँग आबद्ध सैनिक सम्मिलित अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बल (आइएसएएफ) स्थापना भएको थियो । यतिखेर पनि अफगानिस्तानमा निर्वाचनको प्रक्रिया सुरु भइसकेको छ ।

यस निर्वाचनमा राष्ट्रपतिका सबैजना उम्मेदवारले पनि अफगानिस्तानमा शान्ति स्थापनाको विषयलाई नै मुख्य एजेण्डा बनाएका छन् ।

अफगान सरकार र अमेरिका समेतले तालिवानी तथा अल–कायदालाई शान्तिवार्ता गर्न बारम्बार आह्वान गरेकामा कहिले वार्तामै नबसी र कहिले तीव्र वैचारिक मतान्तरका कारण शान्तिवार्ता हालसम्म असफल हुँदैआएका छन् । यो लक्षणले उक्त समयसीमा भित्रसम्म शान्तिप्रक्रिया सुरु हुने अन्यौल नै छ । सन् २०१४ को अन्त्यसम्म नेटो सैनिक सम्पूर्ण रूपमा अफगानिस्तानबाट फर्काउने अमेरिकी निर्णयले यसपछिको अफगानिस्तानको तस्बिर विश्व समूदायले भयावह देखेका छन् ।

यसपटक भने अफगानिस्तान र अमेरिकाका बीचमा ठूलो कूटनीतिक दरार नै उत्पन्न भएको छ । नेटो सैनिक सम्बन्धमा अफगानिस्तानका वर्तमान राष्ट्रपति कारजायीले गर्नुभएको आनाकानीले अफगानिस्तानकाप्रति आगामी दिनमा अमेरिकी नीनि के हुने भन्ने विषय टडकारो बनेको छ । तर यो पछिल्लो निर्वाचनको नेतृत्वको कुशलताबाट पनि आगामी दिनको अफगान विदेश नीनि निर्भर हुने छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us