काठमाण्डुको सुरक्षा सुधार्ने रमेश खरेलका यस्ता योजना

काठमाण्डु टुडे २०७० फागुन १ गते १३:१८ मा प्रकाशित

ramesh Kharelकाठमाण्डु, फागुन- महानगरीय प्रहरी परिसर, काठमाण्डुले राजधानीको सुरक्षा व्यवस्था सुदृढ गर्न १० बुँदे कार्ययोजना लागू गरेको छ ।

परिसर प्रमुखको रुपमा प्रहरी वरिष्ठ उपरीक्षक रमेश खरेलले आफू सरुवा भएर आएको ११ दिनपछि कार्ययोजना लागू गरेका हुन् ।

उनले प्रहरीको आचरण सुधार गरी सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्न कार्ययोजना ल्याइएको जानकारी दिए ।

कार्ययोजनाको पहिलो बुँदामा नै प्रहरीको आचरण तथा व्यवहारमा सुधार ल्याउने र प्रहरी स्वयम् समस्याको कारक नबनी रोल मोडल भई कार्य गर्नुपर्ने छ ।

प्रहरीको आचरण सुध्रिएमात्र राम्रो काम हुन सक्ने भएकाले पहिलो बुँदामा नै आचरण सुधारको कार्ययोजना राखिएको प्रहरी वरिष्ठ उपरीक्षक खरेलले बताए ।

‘पहिले आफू सुध्रिएपछि मात्र समाजलाई सुधार्न सकिन्छ,’ खरेलले भने ।

यसैगरी कार्ययोजनामा भ्रष्टाचार र दण्डहीनताविरुद्ध शून्य सहनशीलताको नीति, अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन वैज्ञानिक साधनको प्राथमिकता, विभिन्न संघसंस्थासँग समन्वय र सहकार्य, चोरी, डकैती न्यूनीकरण, प्रहरी कर्मचारीलाई पुरस्कार र दण्डसजाय, दलाल, अपराधी, भ्रष्टाचारीसँगको सम्बन्धबाट टाढा रहने विषयहरू समेटिएको छ ।

शान्ति सुरक्षालगायतका विषयमा नागरिक समाजहरूसँग अन्तक्र्रिया र कामकारबाहीबारे पृष्ठपोषण लिने काम पनि कार्ययोजनामा समेटिएको छ ।

राजधानीमा आर्थिक अपराधका घटनाहरू वृद्धि हुँदै गइरहेकाले परिसरले गुण्डागर्दीका साथै सामाजिक विकृति, जुवातास, वेश्यावृत्ति, दुव्र्यवहारजस्ता अनैतिक क्रियाकलाप नियन्त्रणको रणनीति लिएको छ । राजनीतिक र समाजका प्रतिष्ठित व्यक्तिको आडमा गुण्डागर्दी मौलाएको जानकारी दिँदै प्रहरी वरिष्ठ उपरीक्षक खरेलले त्यस्ता प्रवृत्तिलाई तत्काल नियन्त्रण गर्ने कार्ययोजना तयार गरेको जानकारी दिए ।

उनले अघिल्लो कार्यकालभन्दा नयाँ नयाँ तरिकाले अपराध गर्ने प्रवृत्ति बढेको जानकारी दिँदै आएका सूचनाकै आधारमा प्रहरीले कामकारबाही अगाडि बढाउने बताए ।

काठमाण्डुलाई सेल्टर बनाएर बसेका अपराधीहरूको खोजी गर्नेदेखि कैद मुक्त भएका व्यक्तिलाई निगरानी राख्नेसम्मको काम भइरहेको खरेलले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us