दुवै माओवादीले आज जनयुद्ध दिवस मनाउँदै

काठमाण्डु टुडे २०७० फागुन १ गते २:२२ मा प्रकाशित

काठमाण्डु, १ फागुन – एकीकृत माओवादी र नेकपा–माओवादीले आज १९ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछन्  ।
prachanda-mohan baidhyaदिवसका अवसरमा एकीकृत एमाओवादीले कोटेश्वर पेरिसडाँडा र नेकपा–माओवादीले बुद्धनगरस्थित पार्टी कार्यालयमा छुट्टाछुट्टै चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गते आजैका दिन राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थाविरुद्ध हतियार उठाएको थियो । १० वर्षसम्म चलेको माओवादी जनयुद्धका क्रममा राज्य पक्षबाट ८ हजार र विद्रोही  पक्षबाट ५ हजारले ज्यान गुमाएका थिए ।

सयौं मानिस अझै बेपत्ता छन् । माओवादीले आफ्नो जनयुद्ध रणनीतिक रक्षा र सन्तुलन हुँदै रणनीतिक प्रत्याक्रमणमा पुगेको बताइरहेका बेला तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे समझदारी भएको थियो ।

सोही समझदारीपछि भएको २०६२/०६३ को आन्दोलन सफल भएससँगै २०६४ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताले माओवादीका लागि खुला प्रतिस्पर्धात्मक राजनीतिमा आउने बाटो खुला गरेको हो ।

यद्यपि, पार्टी कार्यदिशा शान्तिपूर्ण वा हिंसात्मक के हुने भन्ने विषयको विवाद चर्कंदै गएपछि मोहन वैद्यको नेतृत्वमा एउटा पक्षले डेढ वर्षअघि पार्टीबाट अलग भएर छुट्टै पार्टीका रुपमा नेकपा–नेकपा माओवादी गठन गरेको छ ।
यसैबीच जनयुद्धको प्रमुख नेतृत्वकर्ता एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक शुभकामना सन्देश जारी गर्दै आफूहरुले सञ्चालन गरेको जनयुद्ध राजनीतिक रुपले ऐतिहासिक र महान् सावित भएको दाबी गरेका छन् ।

गणतन्त्र, धर्मनिरपेक्षता, समावेसी–समानुपातिक सहभागिता र संघीयतामा आधारित राज्यको अग्रगामी पूर्नसंरचना जस्ता राजनीतिक उपलब्धि आफूहरुकै कारण सम्भव भएको भनाइ प्रचण्डको छ ।

उनले आफ्नो पार्टी संविधानसभामार्फत् प्राप्त राजनीतिक उपलब्धी संस्थागत गर्दै नेपाली क्रान्तिका बाँकी कार्यभार पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
यस्तै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र महासचिव रामहादुर थापाले  सयुक्त विज्ञप्ति जारी गर्दै रणनीतिक रक्षा र सन्तुलनको चरण पार गर्दै प्रत्याक्रमणको चरणमा प्रवेश गरेका बेला पार्टीको एउटा हिस्सामा गम्भीर दक्षिणपन्थी नवसंशोधनवादी विचलन पैदा भएका कारण जनयुद्धले धक्का खाएको बताएका छन् ।

विचारधारात्मक, राजनीतिक र सांगठनिक रुपमा विद्रोहको झण्डा उठाउँदै नेकपा–माओवादीको गठन गरी क्रान्तिको प्रक्रियामा अगाडि बढेको उनीहरुले बताएका छन् । विज्ञप्तिमा जनसमुदायमाथि उत्पीडन र दमन भएसम्म प्रतिरोध, क्रान्ति र मुक्तिको प्रक्रिया निरन्तर जारी रहने उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us