फरार अभियुक्त एक वर्षपछि पक्राउ

काठमाण्डु टुडे २०७० माघ २८ गते ५:०७ मा प्रकाशित

pakrau-arrestपर्सा, २८ माघ – अपहरण गरी हत्या गरेको अभियोगमा एक वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज उपमहानगरपालिका–६ निवासी १८ वर्षीय राजु प्रजापतिको अपहरणपछि हत्या गरेको अभियोगमा २०६९ साल असोज २१ गते फरार रहँदै आएका वीरगन्ज उपमहानगरपालिका–२ निवासी उमाशङ्कर बर्णवाललाई सोमबार जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुराकीका आधारमा पक्राउ गरेको हो ।

सोमबार बर्णवाल घरमा नै रहेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अपहरणपछि प्रजापतिको परिवारसँग १० लाख रुपैयाँ फिरौती लिई उनको हत्या गरी बाराको अमरपटी गाविसमा पर्ने मातियर खोलामा फालिएको अनुसन्धानबाट खुलेको थियो ।

पक्राउ परेका बर्णवाललाई हिजै पुनरावेदन आदालत मकवानपुरमा उपस्थित गराएपछि अदालतले उनलाई पुर्पक्षका लागि कारागारमा राख्ने आदेश गरेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका बर्णवालले अपहृतको हत्या बारामा गरेको हुनाले कारबाहीका लागि उनलाई जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us