स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू हुँदै

काठमाण्डु टुडे २०७० माघ २८ गते २:०२ मा प्रकाशित

TUकाठमाण्डु, २८ माघ – त्रिभुवन विश्वविद्यालयले मंगलबारदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गर्दैछ । विद्यार्थी संगठन र त्रिवि पदाधिकारीबीच सोमबार भएको छलफलपछि सेमेस्टर प्रणालीबाट पहिलो चरणमा केन्द्रीय विश्वविद्यालय कीर्तिपुरमा भर्ना प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।

यो प्रणाली लागू गर्नेबारे नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले सहमति जनाएका छन् । तर, नेकपा–माओवादीको अनेरास्ववियु क्रान्तिकारीलगायतका चार विद्यार्थी संगठनले भने विरोध जनाएका छन् । त्रिविले आह्वान गरेको छलफलमा १३ विद्यार्थी संगठन सहभागी थिए ।

त्रिवि उपकुलपति हीराबहादुर महर्जनले विद्यार्थी संगठनको सहमतिपछि मंगलबारदेखि केन्द्रीय विश्वविद्यालयमा भर्ना खुला गरिने जनाए । यसअघि, त्रिवि पदाधिकारीले पाँच वर्षदेखि गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने सर्त १३ विद्यार्थी संगठनको अगाडि सारेका थिए । तर, प्रमुख तीन विद्यार्थी संगठनले सहमति जनाएपछि त्रिविले भर्ना र पढाइ प्रक्रिया अघि बढाउने भएको छ ।

सेमेस्टर प्रणाली लागू गर्दा शुल्क वृद्धि नगर्ने र चार वर्षका लागि ३३ हजार लिने, विद्यार्थीले अघि सारेका १२ बुँदे सम्झौता कार्यान्वयन गर्ने, विद्यार्थीको स्वास्थ्य बिमा बापत ५ सय लिने र सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालगायतका विषयमा विद्यार्थी संगठन र त्रिवि पदाधिकारीबीच सम्झौता भएको नेविसंघ प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । उनका अनुसार दुई वर्षभित्र मुलुकभरका सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू हुनुपर्नेलगायतका सर्तसमेत राखिएको छ ।

त्रिवि पदाधिकारीले दातृ निकायको दबाबमा भर्ना प्रक्रिया अगाडि बढाएपछि विद्यार्थी संगठनले सर्त राखेका थिए । तर, त्रिवि पदाधिकारी र ठूला विद्यार्थी संगठनबीच सहमति भएपछि अन्य विद्यार्थी संगठनले विरोध जनाउने भएका हुन् ।

क्रान्तिकारी अध्यक्ष शरद रसाइलीले विद्यार्थीको हितविपरीत प्राध्यापक र विद्यार्थीको विरोधबीच भौतिक पूर्वाधारविनै सेमेस्टर प्रणाली लागू गर्न लागेकाले विरोध जनाएको प्रस्ट्याए ।

प्रध्यापक संघ अध्यक्ष रामेश्वर उपाध्यायले त्रिवि उपकुलपति हीराबहादुर महर्जन, शिक्षाध्यक्ष गुणनिधि न्यौपाने र रजिस्ट्रार चन्द्रमणि पौडेलले दाताको दबाबमा सेमेस्टर प्रणाली लागू गर्न लागेको आरोप लगाए । यो प्रणलीबारे गत २ भदौदेखि भर्ना प्रक्रिया खुला गरे पनि विद्यार्थी संगठनको अवरोधका कारण पढाइ र भर्ना अगाडि बढ्न सकेको थिएन ।

विश्व बैंकले सेमेस्टर प्रणाली केन्द्रीय विभाग कीर्तिपुरमा पहिलो चरणमा लागू गर्न करिब १५ करोड रुपैयाँभन्दा बढी सहयोग गरेको छ । दोस्रो उच्च शिक्षा परियोजनाअन्तर्गत ‘विश्वविद्यालयको शिक्षा सुधार्ने’ भन्दै उसले सहयोग गरेको छ ।

स्ववियु निर्वाचन वैशाखमा त्रिभुवन विश्वविद्यालय पदाधिकारी र विद्यार्थी संगठनबीच सोमबार भएको छलफलपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन वैशाखमा गर्ने सहमति भएको छ ।

त्रिविका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा २०६५ सालदेखि विद्यार्थी संगठनबीच विवाद भएपछि निर्वाचन हुन सकेको छैन । प्रत्येक वर्षमा हुने निर्वाचन पाँच वर्ष बितिसक्दा पनि हुन सकेको छैन । त्रिवि सभाले स्ववियुसम्बन्धी नियम संशोधन गरी मिश्रित प्रणालीका आधारमा गर्ने उल्लेख गरेको छ ।

विद्यार्थी संगठनबीच निर्वाचन प्रणालीको विषयमा सहमति भए आगामी २० वैशाखमा स्ववियु निर्वाचन गर्न सक्ने त्रिविले जनाएको छ । उसले स्ववियु निर्वाचनबारे विभिन्न विद्यार्थी संगठनसँग छलफल र परामर्शलाई थप अघि बढाउने योजना बनाएको छ ।
– आजको नागरिक र राजधानी दैनिकमा खबर

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us