सुत्केरीको सालनालबाट वायु ऊर्जा उत्पादन

काठमाण्डु टुडे २०७० माघ २६ गते १३:१४ मा प्रकाशित

चितवन– कुनै महिला सुत्केरी भएपछि तपाईको गाउँठाउँका अस्पतालले सालनाल कहाँ व्यवस्थापन गर्छन् ? कतै गाड्छन्, कुनै फोहर फाल्ने कन्टेनरमा हाल्छन् त कहिं त्यसै छाडेर दुर्गन्ध फैलिएको पनि होला ।

तर सालनालबाट वायु ऊर्जा निकाल्न सकिन्छ भन्दा तपाई नपत्याउन सक्नु हुन्छ । तर अब नपत्याइ सुख छैन, किनकि चितवनमा यसको सफल प्रयोग भइसकेको छ । पूर्वी चितवनको चैनपुर गाविसस्थित उपस्वास्थ्य चौकीले सालनालबाट वायु ऊर्जा निकालेर नेपालमै नमुना र उदाहरणीय काम गरेर देखाएको छ ।

मेडिकल सिटीको रुपमा विकास भइरहेको चितवनका ठुला अस्पतालले अझै राम्ररी फोहर व्यवस्थापन गर्न सकेका छैनन् । जसका कारण बेलाबेलामा यहाँका ठूला अस्पतालका फोहरले दुर्गन्ध नै फैलिने गरेको छ ।

अब ती अस्पताललाई समेत पाठ सिकाउँदै चैनपुर उपस्वास्थ्य चौकीले सालनालबाट वायु ऊर्जा निकालिएको चितवनका जनस्वास्थ्य कार्यालय प्रमुख केहर सिंह गोदारले बताए ।

शौचालयको फोहर र सालनाल मिसाएर यहाँ दैनिक एक घण्टा वायु ऊर्जा निकालेर खाना पकाउनमा समेत प्रयोग गर्न थालिएको उपस्वास्थ्य चौकीका ईन्चार्ज विष्णुप्रसाद रिजालले जानकारी दिए ।

यहाँ घरेलु प्रविधिको प्रयोग गरेर अस्पतालजन्य फोहरलाई बैज्ञानिक रुपमा व्यवस्थापन गरी घरेलु उपयोगका हस्तकलाका सामानसमेत उत्पादन गरिएको छ ।  यसरी यहाँ  ‘फोहरबाट मोहर’  कमाउने काम भइरहेको छ ।

आज मात्रै एक समारोहमा उक्त वैज्ञानिक फोहर व्यवस्थापन कार्यको उद्घाटन गर्दै स्वास्थ्य मन्त्रालयका  विशेषज्ञ सचिव डा रोजनसुन्दर श्रेष्ठले यस्तो नमुना काम अन्य ठूला अस्पतालमा पनि प्रयोग गर्न जरुरी भएको बताए । उनले नमुना कार्य गर्ने उक्त उपस्वास्थ्य चौकीको स्तरवृद्धि गराई  स्वास्थ्य चौकी बनाउन आफूले पहल गर्ने आश्वासन दिए ।

हेल्थ केयर फाउन्डेसन नेपाल (हेकाफ)का स्वास्थ्यसंस्थाजन्य फोहर व्यवस्थापन निर्देशक महेश नकर्मीले प्लाष्टिक लगायत अन्य खेरजाने सामानबाट हस्तकलाका सामाग्री बनाएर राम्रो आम्दानी गर्न सकिने र कुहिने फोहरबाट गड्यौले मल बनाइएको बताए ।

यो विधिअन्तर्गत कुहिने, नकुहिने, सुई, सिसाका टुक्रा, सङ्क्रमित फोहर गरी अलग अलग भाँडामा छुट्याएर जम्मा पारिन्छ । त्यसपछि कुहिने फोहरलाई कम्पोष्ट मल बनाएर प्रयोग गरिन्छ भने सुईलाई निडिल कटरमार्फत प्रयोग गर्न नमिल्ने बनाइन्छ, जसबाट जोखिम कम हुने नकर्मीले बताए ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका पानी वितरण तथा वातावरण क्षेत्रका टोली नेता हान ह्याजिनले सालनालबाट निकालिएको वायु ऊर्जा र घरेलु प्रविधिबाट अस्पतालजन्य फोहर व्यवस्थापन कार्यमा नमुना काम भएकोमा प्रसन्नता व्यक्त गरे ।

विश्व स्वास्थ्य सङ्गठनका वातावरणीय स्वास्थ्य सल्लाहकार टेरेन्स थम्प्सनले  वातावरण स्वच्छ राख्न यो प्रविधि अनुकरणीय रहेको बताए ।

सरकारी उपस्वास्थ्य चौकीमा बैज्ञानिक पद्धतिबाट फोहर व्यवस्थापन सुरु गर्ने चितवन जिल्ला  नेपालमै पहिलो भएको छ । त्यसमाथि सालनाल प्रयोग गरेर वायु ऊर्जा निकाल्ने अपत्यारिलो काम सफलतापूर्वक गर्नमा चैनपुर उपस्वास्थ्य चौकी पहिलो भएको अभियानमा सहयोग गर्दै आएको संस्था  हेकाफले जनाएको छ ।

चितवनका अस्पतालहरुमा फोहरको समस्या भयावह रुपमा बढीरहेका बेला उपस्वास्थ्य चौकीमा भने नमुना कार्य सुरु भएपछि ठुला अस्पतालका लागि चुनौती भएको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

चितवन जिल्लाका पाँच स्वास्थ्य उपचार केन्द्रमा बिरामीको उपचारपछि निस्केका फोहरलाई बाल्न वा कतै फाल्न नपर्ने गरी व्यवस्थापन गर्ने योजना अनुसार चैनपुर र पिठुवा उपस्वास्थ्य चौकी र गुञ्जमान स्मृति अस्पतालमा यो व्यवस्था गरिसकिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख  गोदारले चितवनका अस्पतालमा फोहरको ठूलो समस्या रहेकाले यो प्रविधि अपनाउन प्रयास गर्ने जानकारी दिनुभयो । मेडिकल सिटी भनिने गरेको भरतपुरमा मात्र विभिन्नस्तरका गरी २६ वटा अस्पताल हाल सञ्चालित छन् ।

नेपालमा पहिलो पटक यो प्रविधि हेकाफद्वारा सञ्चालित राष्ट्रिय मिर्गाैला उपचार केन्द्रमा सन् १९९९ मा सुरु गरी सफल भएपछि वीर अस्पताल, प्रसुति गृह, कान्ति बाल अस्पताल, नर्भिक र अछामको जिल्ला अस्पतालमा प्रयोग गरिसकिएको बताइएको छ । अब छिटै नै चितवनको खैरहनी र पञ्चकन्या उपस्वास्थ्यचौकीमा पनि यो व्यवस्था लागू हुनेछ ।

कार्यक्रममा चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, स्थानीय विकास अधिकारी तीलक पौडेल, शान्ति मेड नेपाल, स्वीट्जरल्याण्डका अध्यक्ष डा रुथ गोन्सेत, अन्तर्राष्ट्रिय विज्ञान तथा नीति विश्लेषक रुथ स्टिंगर, विश्व स्वास्थ्य सङ्गठनको दक्षिया एसिया सल्लाहकार पेडेन, हेकाफका संस्थापक सदस्य श्रीरामसिंह बस्नेत, चैनपुर गाविस सचिव, स्थानीय समाजसेवी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us