वाइसीएल कार्यकर्ताको गोली हानी हत्या

काठमाण्डु टुडे २०७० माघ २५ गते १२:११ मा प्रकाशित

धादिङ, २५ माघ– एकीकृत माओवादीको सहायक संगठन वाइसीएल कार्यकर्ता पहलमान तामाङको उत्तरी धादिङको सोमजोङमा हत्या भएको छ ।
सेमजोङ गाविस–६, टीकाढुंगास्थित  ससूराली घरमा बसिरहेका बेला तामाङको शुक्रबार राति हत्या भएको वाइसीएल उपत्यका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले बताए ।

उनले तामाङको गोली प्रहार गरी हत्या गरिएको जनाएका छन् । तामाङ नुवाकोट सामरीका स्थायी बासिन्दा हुन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सापकोटाले तामाङको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

विज्ञप्तिमा उनले काठमाडौंबाटै पिछा गरेर गएका गुण्डाहरुको एक समूहले उनको हत्या गरेको बताएका छन् । सापकोटाले घटनामा धादिङ धुवाकोट –१ का राजकूमार तामाङ, उनका भाई नकुल, सेमजोङग –८ धाराधिरीका साजन गुरुङ, सोही गाविस –६ टिकाढुगांका ध्वदी गुरुङ,सेमजोङ–२ गैराका गोरे तामाङ, सेमजोङ –८ धाराधिरीका गोले तमाङ र  नुवाकोट सामरीका सोमबहादुर तामाङ संलग्न रहेको आरोप लगाएका छन् ।

यसैबीच धादिङ प्रहरी प्रमुख अशोक सिंहले हत्यामा संलग्नको पहिचान खेलिसकेको र उनीहरुलाई पक्रन चारैतिर प्रहरी परिचालन गरिएको बताए । उनले हत्यामा सेम्जोङ र सामरीका युवाहरु संलग्न रहेको जानकारी आएको उल्लेख गरे ।

सिंहका अनुसार हत्यामा संलग्न समूहले प्रयोग गरेको मोटरसाइकलको नम्बर खेलिसकेकाले अपराधीहरु छिट्टै नियन्त्रणमा आउने दाबी गरे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us