प्रधानमन्त्रीमा उम्मेदवारी दिने एमालेको तयारी

काठमाण्डु टुडे २०७० माघ २५ गते ९:०४ मा प्रकाशित

काठमाण्डु, २५ माघ– संविधानसभाको दोस्रो ठूलो दल नेकपा एमालेले पनि प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने भएको छ ।
uml officeसंसद सचिवालयका अनुसार एमालेले प्रधानमन्त्री निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न फाराम लगेको छ । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले एमाले सभासद रामवीर मानन्धरले उम्मेदवार फारम लिएर गएको जानकारी दिए ।

एमालेले यसअघि काँग्रेस नेतृत्वको सरकारमा सहभागी हुने बताए पनि नेतृत्वमा दाबी भने गरेको थिएन । तर उसले सरकारमा सहभागी हुन राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको निर्वाचनसहित शक्ति बाँडफाँटबारे प्याकेजमा सहमति हुनुपर्ने सत राख्दै आएको छ ।

काँग्रेस भने नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति परिवर्तन गर्न नसकिने अडानमा छ । सरकार नेतृत्वमा दाबी नगरेको र उम्मेदवारको समेत टुंगो नलगाएको एमालेले उम्मेदवारी फाराम लगेपछि सरकार नेतृत्वमा दाबी गरिरहेको काँग्रेस थप दबाबमा परेको छ ।

स्रोतका अनुसार एमालेले उम्मेदवारी दिनका लागि नभई काँग्रेसलाई गलाउने रणनीतिअन्तर्गत उम्मेदवारी फाराम लगेको हो । नयाँ प्रधानमन्त्रीका लागि व्यवस्थापिका–संसदमा सोमबार मतदान हुँदैछ । संसद सचिवालयले आज र भोलि उम्मेदवारी दर्ताको समय तोकेको छ ।

काँग्रेसले नसके एमाले: ओली
यसैबीच एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेसले सहमति जुटाउन नसके आफ्नो पार्टी सरकारको नेतृत्व लिन तयार रहेको दोहोर्‍याएका छन् ।
युवा संघ नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा ओलीले सरकारको नेतृत्व लिने म्याण्डेट काँग्रेससँग भए पनि उसले नसके आफूहरु तयार रहेको बताएका हुन् ।

उनले काँग्रेस वा एमालेबाहेक अरु दलको नेतृत्वमा सरकार बन्न नसक्ने स्पष्ट गरे । ओलीले आफू अझै पनि काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने मान्यतामा रहेको र दुई दलबीच शक्ति बाँडफाँटबारे कुराकानी भइरहेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us