
काठमाण्डु, २५ माघ – संसदीय दलमा अध्यक्ष झलनाथ खनाल नेता केपी शर्मा ओलीसँग पराजित भएपछि एमाले भित्रको शक्तिसंघर्ष तीव्र हुन थालेको छ ।
आगामी बैशाखका लागि प्रस्तावित एमालेको महाधिवेशनसम्म पुग्दा त्यो शक्तिसंघर्ष चरमोत्कर्षमा पुग्नेछ । ओली संसदीय दलको नेता र प्रधानमन्त्रीको दावेदार भएपछि अध्यक्ष खनाल छायाँमा पर्न थालिसकेका छन् ।
दक्षिण र उत्तर दुबै छिमेकी मुलुकलाई रिजाउन सिपालु ओली दलको नेता भएपछि प्रधानमन्त्रीका लागि उनलाई बाटो खुलेको हो । त्यसैले उनले काँग्रेस संसदीय दलका नेता तथा सभापति सुशिल कोइरालाले बहुमत प्रस्तुत गर्न नसके आफूले बहुमत पुर्याएर देखाइदिने दावी गरिसकेका छन् ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा नेता ओलीले कोइरालालाई चुनौती दिँदै भने, ‘यदि काँग्रेससँग ठोस प्रस्ताव छैन भने हामी उनीहरुको समर्थनमा सरकारको नेतृत्व गर्न सक्षम छौ।’ खनाल प्रधानमन्त्री भएका बेला भारतले एक पटक पनि औपचारिक निमन्त्रणा नदिएको तितो ओलीले बेहोर्नुपर्ने छैन ।
ओलीले भारत र चीन दुबैसँग सन्तुलन मिलाउँदै आएका छन् ।
करीव एक हजार आठ सय पार्टी प्रतिनिधिद्धारा निर्वाचित खनालका लागि प्रमुख चुनौतीका रुपमा देखिएका ओली आफैं शक्तिकेन्द्र बन्न थालेका छन् । अध्यक्ष खनालले केन्द्रीय समितिमार्फत दिएका निर्देशन ओलीले उल्लंघन गर्न सक्छन् ।
खनाल र ओलीबीच नियन्त्रण र सन्तुलनको सम्बन्ध बिग्रदै जानेछ । ‘अव स्वार्थहरु टकराउन थाल्छन, पार्टीमा दुई सेन्टर भएपछि अन्य दलका अरु सेन्टरसँग यिनको जायज वा नाजायज सम्बन्ध बढ्न थाल्छ,’ खनाल निकट एमाले नेता घनश्याम भुषालले अन्नपूर्णपोष्टलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘आफैं भित्र बिथोलिने संरचना बनाएपछि बाहिर पनि यसका बाछिटा पर्छन् । अरु पार्टीहरुको सम्बन्धमा पनि बाछिटा पर्छन र संविधान निर्माणको कोर्समा पनि त्यसले असर पार्छ ।’
आगामी दिनमा ओलीको सम्बन्ध काँग्रेसमा शेरबहादुर देउवा पक्षसँग बढ्नेछ । काँग्रेस सभापति कोइराला प्रधानमन्त्री निर्वाचित भइहाले भने पनि ओली र देउवाले उनलाई एक वर्षपनि चैनसँग सरकार सञ्चालन गर्न दिने छैनन् ।
सभापति कोइरालाले महामन्त्री प्रकाशमान सिंहलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री दिने शर्तमा संसदीय दलको नेतामा आफनो पक्षमा पार्न सफल भएका थिए । उपप्रधानमन्त्री तथा गृहमन्त्री नपाएमा एमालेले कोइरालालाई समर्थन नगर्न सक्ने सम्भावना छ ।
एमालेलाई उपप्रधान तथा गृहमन्त्री दिदा नेता सिंह देउवातिर लाग्न सक्ने खतरा पनि छ । त्यसो भएमा कोइरालालाई संसदीय दलको नेताबाट बर्खास्त गरी देउवा त्यो पदमा पुग्न सक्नेछन् । त्यतिबेला देउवा र ओलीबीच प्रधानमन्त्री पद कसले हत्याउने भन्नेमा विवाद हुन सक्छ ।
कोइरालाका लागि देउवा सहयोगी नहुने, देउवाका लागि कोइराला असहयोगी हुने, खनालका लागि ओली सहयोगी नहुने, ओलीका लागि खनाल असहयोगी हुने अवस्था सिर्जना हुँदै जाँदा काँग्रेस र एमाले विभाजनको संघारमा पुग्न पनि सक्छन् ।
त्यसका लागि ओली-खनाल र कोइराला-देउवालाई अन्तराष्ट्रिय शक्तिकेन्द्र पनि मलजल गर्न सक्छन् । त्यसो भयो भने संविधान निर्माण गर्ने प्रक्रियाबाट राजनीतिक दलहरु विचलित हुँदै गएको प्रष्टै देखिनेछ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नु पर्ने मुद्दामा पनि काँग्रेस र एमालेबीचको विवाद संसदमा देखिन थालिसकेको छ ।
काँग्रेस एमालेबीचको विवाद संविधान निर्माण प्रक्रियामा पनि देखिन सक्नेछ । संविधान निर्माणमा रचनात्मक भूमिका निर्वाह गर्ने तर सरकारमा सामेल नहुने घोषणा गरेको एमाओवादीले राष्ट्रपति, उपराष्ट्रपति, सरकार र संविधानसभामा शक्तिबाँडफाँड प्याकेजमा गरिनु पर्ने माग गरेको छ ।
नेपाली राजनीतिका आगामी दिन संविधान निर्माणमा भन्दा शक्ति बाँडफाँडमा केन्द्रित हुने देखिँदैछ ।