बहुमतीय सरकार गठनको प्रक्रिया सुरु

काठमाण्डु टुडे २०७० माघ २५ गते ५:२४ मा प्रकाशित

Biccकाठमाण्डु, २५ माघ – बहुमतीय सरकार गठनको प्रक्रिया शनिबारबाट सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गर्ने समय सुरु भएको छ ।

अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम सहमतिको सरकार गठन नभएपछि धारा ३८ (२) बमोजिम बहुमतीय सरकार गठन प्रक्रिया सुरु भएको हो ।

सोमबार संसदमा हुने निर्वाचनका लागि उम्मेदवारी दिनेहरुको अन्तिम नामावली आईतबार साँझ ५ बजे प्रकाशित हुनेछ ।

२७ गते बिहान ११ बजे बस्ने व्यवस्थापिका संसद्को बैठकमा सबै उम्मेदवारले उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, सबै उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र सबै उम्मेदवारीलाई एकैसाथ निर्णयार्थ प्रस्तुत गरिने कायक्रम छ ।

कार्य व्यवस्था परामर्श समितिको सिफारिस संसदले पारित गरेसँगै संसद सचिवालयले कार्यतालिका बनाएर निर्वाचन प्रक्रिया अघि बढाएको हो । भावी प्रधानमन्त्रीका लागि काँग्रेस सभापति सुशिल कोइरालाले उम्मेदवारी दिँदै छन् ।

संविधानसभाको पहिलो ठूलो दलको संसदीय दलका नेतासमेत रहेका कोइरालाले सहमतिको प्रयास सफल हुन नसकेपछि बहुमतीय प्रक्रियामा पनि उम्मेदवारी दिन लागेका हुन् ।

अहिलेसम्म सरकार गठनका लागि कांग्रेसले स्पष्ट बहुमत जुटाईसकेको छैन । सहमतिका लागि काँग्रेसले शनिबार पनि नेकपा एमालेसहितका दलहरुसँग छलफल गर्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us