‘युरोपेली मुलुकहरुमा भ्रष्टाचार भयावह’

काठमाण्डु टुडे २०७० माघ २१ गते १:५२ मा प्रकाशित

europian unionकाठमाण्डु, २१ माघ – युरोपेली संघकी गृह मामिलासंबन्धी आयुक्तले सदस्य मुलुकहरुमा भ्रष्टाचारको स्तर भयावह भएको चेतावनी दिएकी छिन्।

युरोपेली संघका सदस्य मुलुकहरुमा भ्रष्टाचारको समस्याबारे पहिलो पटक प्रकाशित प्रतिवेदन सार्वजनिक गर्दै सेसिलिया माम्स्ट्रोमले भनिन्, भ्रष्टाचारले प्रत्येक वर्ष एकसय साठी अर्ब डलरभन्दा बढी नोक्सान पुराइरहेको छ, जुन झण्डै युरोपेली संघको बार्षिक बजेट बराबर हो।

युरोपेली संघका सबै २८ वटै सदस्य मुलुकहरुमा गरिएको अध्ययनका आधारमा उक्त प्रतिवेदन प्रकाशित गरिएको हो।

प्रतिवेदन

प्रतिवेदनमा दुईवटा प्रमुख जनमत सर्वेक्षणहरुको नतीजा समावेश गरिएको छ।

जसअनुसार सर्वेक्षणमा सहभागी युरोपेली संघका तीन चौथाइ नागरिकहरुले उनीहरुको मुलुकमा भ्रष्टाचार व्याप्त रहेको आफुहरुले ठानेको बताएका थिए।

सर्वेक्षणमा सहभागी व्यापारिक प्रतिष्ठानहरुमध्ये चालिस प्रतिशतले युरोपमा व्यापार गर्नमा भ्रष्टाचार एउटा वाधा भएको जनाएका थिए।

भ्रष्टाचारको समस्यामा केन्द्रित पहिलो त्यस्तो प्रतिवेदन प्रस्तुत गर्दै युरोपेली संघकी गृह मामिलासंबन्धी आयुक्त सेसिलिया माम्स्ट्रोमले भनिन्, “हामी आशा गर्दछौं कि यो प्रतिवेदनले सबै तहमा भ्रष्टाचारसंग जुध्न आवश्यक प्रतिबद्धता र राजनीतिक इच्छा शक्तिलाई बढावा दिन मदत पुराउने एउटा अत्यन्तै रचनात्मक प्रकृयाको शुरुआत गर्नेछ।”

उनले भनिन्, “यदि हामी चुपचाप लागेर बस्यौं भने त्यसको निकै ठूलो मूल्य चुक्ता गर्नुपर्नेछ।”

भ्रष्टाचार

माम्स्ट्रोमले केही मुलुकहरुमा सार्वजनिक खरीद क्षेत्रमा भ्रष्टाचारको जोखिम देखिएको बताइन्।

उनले भनिन, केही मुलुकहरुमा राजनीतिक दलहरुले खर्च जुटाउने पद्धति सबैभन्दा प्रमुख समस्याको रुपमा देखिएको छ।

एउटा स्वेडिश समाचारपत्रमा प्रकाशित एउटा माम्स्ट्रोमले भनिन्, भ्रष्टाचारको प्रकृति र स्तर विभिन्न मुलुकहरुमा फरक फरक रहेको छ, तर कुनै पनि मुलुक अछुतो छैनन्।

उनले भनिन्, पारदर्शिता तथा खुलापनसंबन्धी कानुनी प्रावधानहरुका कारण स्वीडेनमा भ्रष्टाचारको समस्या निकै न्यून छ र युरोपेली संघका अन्य मुलुकहरुले स्वीडेनबाट सिक्नु पर्दछ।

उनले भ्रष्टाचारले संगठित आपराधिक समूहहरुलाई हुर्कने ठाउँ प्रदान गरेको भन्दै चिन्ता पनि व्यक्त गरिन्।

युरोपेली प्रहरी संगठन युरोपोलले युरोपमा त्यस्ता आपराधिक समूहहरुको संख्या कम्तीमा तीन हजार रहेको जनाएको छ।प्रतिवेदनमा भ्रष्टाचारसंग जु्ध्न विभिन्न सुझावहरु पनि दिइएको छ। BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us