थाइल्याण्डको आम निर्वाचनमा अवरोध

काठमाण्डु टुडे २०७० माघ १९ गते १७:३२ मा प्रकाशित

थाइल्याण्डमा विरोधीहरुले आम निर्वाचनमा बाधा पु-याएका छन्। बैंकक र देशको दक्षिणका केही भागहरुमा निर्वाचन रोक्नु परेको छ।

तर अधिकारीहरुले त्यस अलावा ८९ प्रतिशत मतदान केन्द्रहरु सामान्य रुपमैं संचालन भएको कुरा बताएका छन्।

निर्वाचन आयोगको भनाइमा वाधा अवरोधका कारण नाम दर्ता भएका करिब ६० लाख मतदाताहरु प्रभावित भएका छन्।

हप्तौंसम्मको आम विरोध प्रदर्शन अन्त्य गर्न प्रधानमन्त्री यिङलक चिनावातले यो निर्वाचन गराएकी हुन्।

निर्वाचनमा उनको दल विजयी हुने ब्यापक रुपमा अनुमान गरिएको छ।

संकट कायमै

तर कानूनी चुनौतीहरु र सांसदहरुको कोरम नपुग्नाले राजनैतिक संकट आइ पर्न सक्छ।

निर्वाचनको बेला थाइल्याण्ड भरी सुरक्षा ब्यवस्था कडा पारिएको थियो र बिभिन्न स्थानमा संकटकालिन अवस्था लागु थियो।

देश भरी एक लाख तीस हजार सुरक्षाकर्मीहरु तैनाथ गरिएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

चुनावी अभियान फितलो थियो र कति मानिसले मतदान गरे भन्ने कुरा स्पष्ट छैन।

सुश्री यिङलक सन् २०११ को अघिल्लो निर्वाचनमा विजयी भएकी थिइन्।

आफ्नो मत खसाल्दै उनले भनिन्, प्रजातान्त्रीक अधिकारको उपभोग गर्न मतदान गर्नु आवश्यक छ।

तर विरोधी नेता सुथेप थाउगसुबानले अवरोधहरुका कारण सरकार परिणाम घोषणा गर्न बिफल हुने कुरा बताएका छन्।

उनको भनाइमा यो निर्वाचन समय र रकमकमे बर्बादी हो। सरकारले देशको उत्तर र उत्तर पूर्वमा मतदानमा कुनै बाधा नपुगेको बताएको छ।

विरोधका कारण बैंककका ६६७१ मतदान केन्द्र मध्ये ४३८ वटामा मतदान हुन सकेन। दक्षिणका सबै नौ प्रान्तमा पनि मतदान हुन सकेन।

केही मतदाताहरुले स्थानीय मतदान केन्द्रसम्म पुग्न नसक्दा निराशा ब्यक्त गरे। BBC Nepali service

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us