चक्रीय क्रान्तिले विश्वअर्थतन्त्र दीर्घकालीन वृद्धिको मार्गमा

काठमाण्डु टुडे २०७० माघ १९ गते ७:३८ मा प्रकाशित

Franceसोह्रौं शताब्दीमा निकोलस कोपर्निकसले ब्रह्माण्डको केन्द्र सूर्य हो भन्ने पत्ता लगाए । यतिबेलासम्म ब्रह्माण्डको केन्द्र पृथ्वीलाई नै मानिन्थ्यो । उनले पृथ्वीलाई सूर्यले घुम्दैन परन्तु पृथ्वीले चाहिँ सूर्यलाई घुम्छ भन्ने तथ्य सप्रमाण अघि सारे । यो नयाँ सत्य इसाई शिक्षाले स्थापित गरेको धार्मिक मान्यताको विपरीत थियो । त्यसैले कोपर्निकस धेरै मानिसको कोपभाजनको शिकार हुन पुगे । उनको यो खोजले नवीन खालका वैज्ञानिक विचारधाराहरू तथा मानव सभ्यतामै क्रान्तिकारी परिवर्तन ल्याउने मार्गप्रशस्त गर्न पुग्यो ।

फेरि अहिले अर्को यस्तै आमूल परिवर्तनको खाँचो महसूस हुन थालेको छ । तर, अबको त्यो क्रान्ति हाल प्रचलित रहेको आर्थिक मोडलमा आमूल परिवर्तनका रूपमा हुनुपर्ने अपरिहार्य भइसकेको छ ।

सन् २०३० सम्ममा विश्वभर मध्यम वर्गको सङ्ख्या ५ अर्बको हाराहारीमा पुग्दै छ । यो जनसङ्ख्याले धनी वर्गले लामो समयदेखि उपभोग गरिरहेकै जस्तो सुविधा र अवसरहरूको अपेक्षा गर्नेछ । परिणामतः वातावरणमा निकै दबाब बढाउनेछ र विश्वमा रहेका स्रोतसाधनको भण्डार रित्याउनेछ ।

अहिले सकेसम्म सस्तोमा उत्पादन तथा उपभोग गर्ने कार्यमै विश्वको ध्यान सीमित भइरहेको छ । यही अल्पदृष्टि नै समस्याको जड हो । यसैको परिणाम स्वरूप वस्तुको फटाफट प्रयोग गरेर त्यसलाई काम नलाग्ने भएपछि फ्याँकिदिने र त्यसको सट्टामा अर्को वस्तु तयार गर्ने अवधारणामा आधारित रेखीय अर्थतन्त्रको सृजना भएको हो ।

अर्थ व्यवस्थाको यो मोडललाई धानिरहन असीमित स्रोतसाधन सहज पहुँचमा उपलब्ध भइरहनुपर्छ । यसबाहेक अर्थ व्यवस्थाबाट निक्लिरहेको ‘वष्टेज’ फाल्न असीमित ठाउँ उपलब्ध हुनुपर्छ । यी दुवै कुरा असम्भव छ । भयावह बन्दै गइरहेको कार्बन उत्सर्जन समस्या, व्यवस्थापन गर्न नसकिने गरी बढिरहेको फोहोरको प्रवाह, प्राकृतिक स्रोतको दोहनमा वृद्धि हुँदै गएर उत्पन्न कठिनाइहरू अहिले हामीले उपयोग गरिरहेको ‘डिस्पोजेबल इकोनोमी’बाट हातलागी भएका परिणामहरू हुन् । यस्ता धेरै समस्याबारे हामीलाई थाहा छ ।

अब एकछिन यी तमाम समस्या सदाका लागि अन्त्य गर्ने उपायबारे विचार गरौं । समाधानको दीर्घकालीन विकल्प तय गर्न प्रकृतिलाई हेरे पुग्छ । प्रकृतिको सञ्चालन प्रणालीमा हानिकारक फोहोर (वेष्ट) उत्सर्जन भन्ने नै हुँदैन । प्रकृतिको प्रणाली सधैं  दुरुस्त हुन्छ । उदाहरणका लागि वनजङ्गललाई नै हेरौं न । ऋतुहरूसँग कति हार्दिक तथा सद्भावपूर्ण भएर वनस्पति अनि जीवजन्तुहरूको जीवनचक्र समाहित भइरहेको हुन्छ । यस्तै दीर्घायु तथा लचकता भएको आर्थिक प्रणाली स्थापना गर्न हामी प्रयासरत हुनुपर्छ ।

पर्यावरणमा जसरी एउटा उद्देश्यपूर्ण चक्रमा सबै चिजको पुनप्रयोग कुशलताका साथ भइरहेको हुन्छ, त्यसरी नै ‘चक्रीय आर्थिक प्रणाली’मा कुनै पनि वस्तुलाई मूल्य सञ्जालको एक अङ्गका रूपमा अङ्गीकार गरिनुपर्छ । यस प्रणालीबाट उत्पादनका वस्तु र त्यसका घटक तथा सामग्रीहरूको पुनप्रयोग र नवीकरण गर्दै स्रोतको निरन्तर पुनः दोहन सुनिश्चित गर्न सकिन्छ ।

साँच्चै चक्रीय अर्थतन्त्रको निर्माण गर्ने हो भने विश्वव्यापी मूल्य सञ्जालका आधारभूत तहमा नै पुनः संरचना आवश्यक हुन्छ । वस्तुको विक्रीको सट्टामा वस्तुमाथि उत्पादककै स्वामित्व कायम राख्दै वस्तुको उपयोगितामात्रै विक्री हुने व्यवस्था गर्न सकिन्छ ।

वस्तुको होइन कि वस्तुको उपयोगिता वा फाइदा मात्रको विक्री गर्दा उत्पादकहरूलाई स्रोतको दीर्घकालीन उपयोग, पुनप्रयोग (रिसाइक्लिङ) हुन सक्ने गरी वस्तुको डिजाइन गर्ने प्रोत्साहन सृजना हुन्छ । यसबाट स्रोतको अधिकतम पुनप्रयोग हुन सक्छ । साथै, यसका लागि नयाँ खाले स्रोतसाधन अनि नवप्रवर्तन र नयाँ उत्पादन प्रणाली जरुरत हुन्छ । साथै, नयाँ व्यापार पद्धति पनि आवश्यक हुन्छ । उपयोग र कानूनी स्वामित्वको अवधारणालाई पनि पुनर्परिभाषित गरिनु पर्नेछ । नयाँ खालका सार्वजनिक खरीद नीति र नवीन वित्तीय रणनीतिहरू आवश्यक हुन्छन् । चक्रीय अर्थतन्त्रका लागि अनुकूल लजिष्टिकको आवश्यकता हुन्छ र नेतृत्वको संस्कृति पनि यसमा स्थापित हुनुपर्छ, जसले त्यस्तो अर्थतन्त्र स्थापित गर्ने दिशामा हुने प्रगतिलाई पुरस्कृत गर्दै लैजान सकोस् ।

चक्रीय अर्थतन्त्रतर्फको सङ्क्रमणले १ ट्रिलियन डलरभन्दा बढीको व्यापारिक अवसर सुनिश्चित गर्छ भन्ने बलियो वित्तीय तर्क रहेको छ । सामग्रीको बचत, उत्पादनशीलताको वृद्धि, नयाँ रोजगारी तथा सम्भाव्य नयाँ उत्पादन र व्यवसायका नयाँ वर्गहरू यो हिसाबमा समाविष्ट छन् ।

व्यापारजगत् एक्लैले अर्थतन्त्रमा आमूल परिवर्तन गर्न सक्दैन । प्रारम्भिक लागतको न्यूनीकरण गर्नेतर्फ होइन कि मानिसको स्वास्थ्य तथा सर्वोपरि हितलाई सुनिश्चित गर्दै कुल मूल्य वृद्धि गर्नेतर्फ व्यवसायलाई प्रेरित गर्न सरकारले पनि आफ्नो ‘टेण्डरिङ’ प्रक्रियालाई यस अनुकूल हुने गरी परिवर्तन गर्नुपर्ने हुन्छ । अनि मात्र समाधानको यो नवीन बाटोमा यात्रा तय गर्न सहयोग हुन सक्छ ।

यसै गरी उपभोक्ताहरू पनि आफ्नो स्वामित्व नरहेको उत्पादन उपभोग गर्न खुला हृदयका साथ तयार हुनुपर्नेछ । किनकि चक्रीय अर्थतन्त्र स्वभावतः प्रणालीगत हुन्छ । वस्तु तथा सेवाहरूको डिजाइन गर्नमा, बनाउनमा तथा स्वामित्वमा सबै सरोकारवालाहरू मिलेर संलग्न भएमा मात्र सफल हुन सक्छ ।

यही कुरालाई ध्यानमा राख्दै मेरो कम्पनीले आफ्ना उत्पादनकर्ताहरूको रिडिजाइनिङ गर्दै छ, यसो गर्दा उत्पादनको प्रयोग गरेपछि बाँकी हुने मूल्यलाई कसरी ग्रहण गर्ने भन्ने विषयमा सोच विचार गरिँदै छ । यसका साथै कारोबारको पुरानो पद्धतिलाई पनि ‘सम्बन्धमा–आधारित’ व्यापार पद्धतिमा परिवर्तित गरिँदै छ । यस्तो नयाँ पद्धतिमा ग्राहक तथा आपूर्तिकर्ताबीच निकट सहयोग सम्बन्ध सुनिश्चित हुनुपर्छ । हामीले आफ्नो कर्पोरेट संस्कृतिलाई पनि परिवर्तन गर्दै लगेका छौं । यस्ता कुनै पनि परिवर्तनहरू निकै कठिन छन् । तैपनि यी काम गर्नु नितान्त आवश्यक भइसकेको छ ।

मानव इतिहासमा भएका ठूलाठूला सङ्क्रमणमा जस्तै यो रेखीय अर्थतन्त्रलाई चक्रीय अर्थतन्त्रमा बदल्ने क्रममा पनि निकै कठिनाइ हुनेछन् । कोलाहल, होहल्ला र असहजता हुनेछन् । यसका समर्थक र निन्दकहरू हुनेछन् । हारजित पनि हुनेछन् । तथापि व्यावसायिक वर्ग, सरकार तथा उपभोक्ता सबैले आआफ्नो भागको काम गर्ने हो भने यो चक्रीय क्रान्तिले विश्वको अर्थतन्त्रलाई दीर्घकालीन वृद्धिको मार्गमा लग्नेछ । साथै ५ सय वर्षपछि यो चक्रीय क्रान्तिको मूल्याङ्कन कोपर्निकस क्रान्तिकै स्तरमा हुने पनि निश्चित नै छ ।

फ्रान्स भान हाउटेन रोयल फिलिप्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।
©
प्रोजेक्ट सिण्डिकेट, २०१४/आर्थिक अभियान दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us