पच्चीस वर्षपछि भाइको खोजीमा धुम्मादेवी

काठमाण्डु टुडे २०७० माघ १८ गते २:३६ मा प्रकाशित

काठमाण्डु, १८ माघ – घर छोडेर गएको पच्चीस वर्ष बितिसक्दा पनि कुनै खवर नपाई आफन्तको वियोगमा जलिरहेको एक परिवारले अहिले खोजीका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

सर्लाही घर भई हाल पद्मोदय मोडमा तरकारी पसल थाप्दै आएकी धुम्मादेवी कार्की आफ्ना दुई भाइ हराएको २५ वर्षपछि झिनो आशा लिएर खोजीका लागि खोजतलास समन्वय केन्द्रमा पुगिन् ।

क्षेत्रमाया भट्टराई र उदयबहादुर भट्टराईका दुई सन्तान १५ वर्षीय राजन र १६ वर्षीय दीपक वीरगन्ज गएर हिसाबकिताब राख्ने काम गर्ने गरेको उनकी दिदी धुम्मादेवीले बताईन् ।

आर्थिक अवस्था कमजोर भएका कारण एसएलसी दिएर काम गर्दै पढ्ने भनेर घरबाट गएका उनीहरुबारे अहिलेसम्म न कुनै खबर आयो न त उनीहरु नै घरमा आए । कोही नौलो व्यक्ति देख्यो भने उनीहरु नै हुन् की जस्तो लाग्ने गरेको बताउँदै गर्दा उनको आँखाभरि आँसु थियो ।

‘छोराहरुको मुख देख्ने आशा छ भन्दा भन्दै मुखै नदेखेर बुबाको पनि मुत्यु भइसक्यो । आमा सुगरको रोगी हुन्नुहुन्छ,’ उनले भनिन्, ‘सधैँ मेरा छोराहरु आएन्न भनेर सोध्नुहुन्छ, आउँछन् भनेर आश्वासन दिएको यतिका वर्ष भइसक्यो अझै पनि फर्केर आएको छैन ।’

घरमा अहिले सानो भाइसँग आमा बस्दै आएको र छोरीहरु सबै विवाह भएर गइसकेकाले बुढेसकालको सहारा कोही नरहेको उनको भनाई छ ।
जहाँ भएपनि, जुन अवस्था भए पनि केही खवर पाउन पाए घरमा त्यही भनेर आमाको चित्त बुझाउन सकिने थियो भन्दै उनले खोजी गरिदिन सम्बन्धित निकायसँग आग्रह गरिन् ।

उनी एक उदाहरण मात्र हुनुहुन्छ, उनीजस्ता धेरै अभिभावक हराएका सन्तानको पर्खाइमा बस्न बाध्य रहेको खोजतलास समन्वय केन्द्रले जनाएको छ ।
सो केन्द्रको तथ्याङ्कअनुसार त्यसरी हराएका बालबालिकाको सङ्ख्या १३ हजार ९३० जना रहेकामा आठ हजार ३०५ जनाको खोजी भइसकेको र बाँकी पाँच हजार ६२५ जनाको खोजीकार्य जारी छ ।

केन्द्रका कार्यक्रम अधिकृत भीमविक्रम शाहीका अनुसार बालबालिका खोजी गर्न केन्द्रीयस्तरमा मात्र खोजतलास समन्वय केन्द्र रहेको तर अन्य क्षेत्रमा खोजी कार्य गर्न केन्द्रको सञ्जाल नभएका कारण तथ्याङ्क सङ्कलनभन्दा अरु केही गर्नसक्ने स्थिति छैन ।

केन्द्रलाई जानकारी प्राप्त भए जतिमा जुनसुकै समयमा पनि बालबालिकाको उद्धार तथा खोजीका लागि सबै क्षेत्र तथा स्थानमा समन्वय गर्दै खटिरहेको सो केन्द्रका प्रहरी निरीक्षक केशवराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार समन्वय केन्द्र जस्ता खोजी गर्ने निकाय एकै स्थानमा मात्र सञ्चालन नगरी अन्य क्षेत्रमा पनि विस्तार गर्नसके बालबालिकाको जोखिमको अवस्था न्यून गर्न सकिने थियो । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले उपत्यकाबाहिर पनि यही केन्द्रको समन्वयमा बालबालिकाको खोजी हुने भएपनि यसको पहँुच सबै क्षेत्रमा पुग्न नसकेको र त्यसका लागि सरकारले नै पहलकदमी लिनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us