कपिलवस्तुका शिक्षक अख्तियारको कारबाहीमा

काठमाण्डु टुडे २०७० माघ १७ गते १:१४ मा प्रकाशित

akhtiyar-durupayog-anusandhan-aayogकपिलवस्तु, १७  माघ – कपिलवस्तुका १८१ जना शिक्षक जरिवानामा परेका छन् । उनीहरुले गत वर्षको भदौ मसान्तभित्र सम्पत्ति बिवरण नबुझाएकाले अख्तियारको छानबिनपछि कारबाही थालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले अनिवार्यरुपमा हरेक आर्थिक वर्षको भदौ मसान्तभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान रहेको छ ।

विवरण बुझाउन हेलचेक्र्याइँ गरेका त्यस्ता शिक्षकलाई कारबाही गर्न मन्त्रालयले नामावली पठाएको शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले बताए । अख्तियारले विवरण नबुझाउने शिक्षकको सूची तयार गरी शिक्षा मन्त्रालयलाई पठाएको थियो ।

त्यसै आधारमा मन्त्रालयले शिक्षा कार्यालयमा सो सूचीसहित कारबाहीको निर्देशन गरेको थियो । विवरण नबुझाएका प्रत्येक शिक्षकसँग पाँच हजारका दरले जरिबाना गर्न मन्त्रालयले निर्देशन गरेको छ ।

जिल्लामा ४२२ विद्यालयमा एक हजार २९५ दरबन्दीमध्ये ८५० स्थायी शिक्षक कार्यरत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us