एमओवादीमा अलग धार र पहिचानबारे बहस

काठमाण्डु टुडे २०७० माघ १६ गते ३:४२ मा प्रकाशित

Perisdadaकाठमाण्डु, १६ माघ – एकीकृत नेकपा माओवादीले वैशाखमा आयोजना हुने वैचारिक/सांगठनिक राष्ट्रिय सम्मेलनसम्म पार्टीको ‘मौलिक पहिचान र स्वतन्त्र धार’ निर्माणका लागि आन्तरिक बहस चलाउने भएको छ।

पार्टीको ‘अलग पहिचान र स्वतन्त्र धार’ गुम्दै गएको भन्दै माओवादीभित्र यसबारे बहस चलाउन लागिएको हो।

संविधानसभाको सबैभन्दा ठूलो वामपन्थी शक्ति नेकपा एमालेले ‘संसदीय सुधारवादी धार’ को नेतृत्व गरेको तथा संविधानसभाभन्दा बाहिर रहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले ‘उग्रवामपन्थी धार’ को नेतृत्व गरिरहेको अवस्थामा दुवै धारभन्दा फरक देखिन एमाओवादीमा बहसमा गएको हो।

‘युद्धकाल’ हुँदै शान्ति प्रक्रियामा आएको माओवादीका लागि आगामी दिनमा ‘अलग पहिचान र स्वतन्त्र धार’ निर्माण सबैभन्दा पेचिलो बन्न पुगेकाले बहस चलाउन लागिएको पूर्र्वपोलिटब्युरो सदस्य राम कार्कीले बताए।

‘वामपन्थी नाम गरेका दलहरु मुलुकभित्र धेरै छन्, तर अरू दलभन्दा माओवादी के कारण फरक छ? त्यो देखाउनु अबको चुनौती हो,’ कार्कीले नागरिकसँग भने, ‘त्यसका लागि सांगठनिक प्रश्नको हलसँगसँगै अलग पहिचान र स्वतन्त्र धार निर्माणका लागि पनि बहस गर्नु जरुरी महसुस गरिएको हो।’ वर्गीय मुद्दालाई प्रमुख आधार बनाएमात्रै पार्टीको ‘अलग पहिचान र स्वतन्त्र धार’ निर्माण हुन सक्ने राय आफूले दिएको कार्कीले जानकारी दिए।

पार्टी हिजो जसका विरुद्ध लडेको थियो, सोही धारमा (संसदीय) फस्दै गएकोमा चिन्ता व्यक्त गर्दै कार्कीले लिखित रुपमै फरक धारणा राखेका थिए।

अध्यक्ष पुष्पकमल दाहाल स्वयंले पनि जारी केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको स्वरुप न जन (मास) पार्टीको जस्तो, न सर्वहारा वर्गको अग्रदस्ताको स्वरुपजस्तो हुन पुगेको भन्दै नयाँ शिराबाट सोच्नुपर्ने लिखित प्रस्ताव अघि सारेका छन्।

आफ्नो स्वतन्त्र धार र मुद्दाबाट टाढिँदै गएको भन्दै बैठकमा अधिकांश केन्द्रीय नेताले पनि चिन्ता व्यक्त गरिरहेका छन्। ‘चुनावमा पराजय हुनु वा संगठनभित्र भाँडभैलो हुनमा व्यक्तिगत र गुटगत कारणमात्रै छैनन्, वैचारिक र सैद्धान्तिक कारण पनि छन् भन्ने महसुस गरेर नेतृत्वदेखि सबै पार्टीपंक्तिले गरेको देखिन्छ,’ केन्द्रीय सदस्य अशोक जयसवालले नागरिकसँग भने, ‘त्यसैका लागि अध्यक्षले यसअघि नै तय भएको सांगठनिक सम्मेलनमात्रै होइन, वैचारिक बहस गर्नु जरुरी भएको भन्दै वैचारिक सम्मेलन गर्नुपर्ने अघि सार्नुभएको हो।’ बदलिँदो विश्व परिवेशमा पार्टीको अलग पहिचान र धार तथा राजनीतिक दिशा तय गर्न आवश्यक भएकाले वैचारिक सम्मेलनको प्रस्ताव दाहालबाट आएको उनले जानकारी दिए।

केन्द्रीय समितिलाई दुई अंकमा झार्ने अध्यक्ष दाहालको प्रस्ताव अनुमोदन हुन नसकेपछि करिब ४ सय सदस्य रहेको केन्द्रीय समितिलाई विघटन गरी आयोजक समितिमा रुपान्तरण गर्ने प्रस्ताव अध्यक्ष दाहालले गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

‘वैशाखभित्र वैचारिक र सांगठनिक राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव आएको छ,’ सापकोटाले बैठकपछि भने, ‘हालको केन्द्रीय समिति विघटन गरी आयोजक समिति बनाउनुपर्ने प्रस्ताव हो।’ उनका अनुसार शुक्रबार पुनः बस्ने केन्द्रीय समिति बैठकले थप निर्णय लिनेछ।

अध्यक्ष दाहालले बैठकमा कार्यकारी अधिकारप्राप्त राज्यसमितिलाई समन्वय समितिमा रुपान्तरण गर्ने तथा हाल राज्यसमितिमा रहेकालाई सम्बन्धित जिल्ला सम्मेलनको आयोजक समितिको जिम्मेवारी दिने प्रस्ताव गरेका छन्। तलवाट निर्वाचित हुँदै केन्द्रीय स्तरमा पनि निर्वाचन प्रणालीमार्फत नेतृत्व चयन गर्ने दाहालले नयाँ प्रस्ताव अघि ल्याएका हुन्।

संसदीय दलको नेतामा अध्यक्ष दाहाल लगभग सुनिश्चित भए पनि उपनेता र प्रमुख सचेतकमा भने माओवादी अझै टुंगोमा पुग्न सकेको छैन। केन्द्रीय कार्यालयमा रहेका मध्यपूर्व उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्व महासचिव पोष्टबहादुर बोगटी संविधानसभा सदस्य नरहेको तथा आफ्नै ‘हाइट’ ले भ्याउने अर्का पूर्व उपाध्यक्ष बाबुराम भट्टराईले संविधान जारी नभएसम्म कुनै कार्यकारी पदमा नबस्ने घोषणा गरेपछि दाहाल अप्ठ्यारोमा परेका छन्।

आन्तरिक शक्ति बाँडफाँट हुनुपर्ने भन्दै तीनवटा पदमध्ये भट्टराईले टोपबहादुर रायमाझी र श्रेष्ठले गिरिराजमणि पोखरेललाई अघि सारेका छन् जो दाहालको ‘हाइट’ अनुसार नभएकाले चयनमा ढिलाइ भएको हो।

दाहालले उपनेताको जिम्मेवारी लिन आग्रह गरे पनि भट्टराईले भने वैचारिक र सैद्धान्तिक बहसमा मात्रै आफू तयार रहने भन्दै पछि हटेका छन्।

नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us