आठ महिना बित्दा पनि बादीको घर बनेन

काठमाण्डु टुडे २०७० माघ १६ गते २:५४ मा प्रकाशित

रुकुम, १६ माघ – महिना दिनमै निर्माण सम्पन्न गर्नेगरी जिल्लाको चौरजहारीस्थित सुकुम्वासी बादी समुदायका लागि थालिएको भवन निर्माण कार्यले गति पाउन सकेको छैन ।

सहरी विकास तथा भवन निर्माण कार्यालय सब–डिभिजन रोल्पाले चौरजहारीका २० घर बादी समुदायका लागि थालेको भवन निर्माण कार्यले गति पाउन नसकेको हो ।

एक महिनाभित्रै काम सक्ने लक्ष्यका साथ गत असार महिनामा काम सुरु गरिएको भए पनि आठ महिनामा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको बादी समुदाय भवन निर्माण समिति चौरजहारीका अध्यक्ष राजकुमार बादीले बताए ।

पक्की घर बनाउने आसामा माटोका कच्ची घरहरु भत्काएका बादीहरुले पालको ओत लागेर सिङ्गो वर्षात् र हिउँदको सिरेटो सहेर बस्न बाध्य भएका छन् । सुकुम्वासी बादी समुदायका लागि भवन निर्माण गर्न प्रति परिवार रु १ लाख ७० हजार बराबरको रकम उपलब्ध गराउने सम्झौता भएको थियो ।

भवन निर्माणमा लामो समयसम्म ढिलासुस्ती हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको बादी समुदायको गुनासो छ । भित्ताका लागि निर्माण गरिएका ब्लकहरु कम गुणस्तरका भएको भन्दै गुणस्तरीय हुनुपर्ने मागसहित बादी समुदायले केही समय भवन निर्माणको कामसमेत रोकेका थिए ।

बादी समुुदाय भवन निर्माणका प्राविधिक विनोद यादवले बादी समुदाय र स्थानीय ब्लक निर्माणकर्ताबीच गुणस्तरीय ब्लक छानेर प्रयोग गर्ने सहमति भएको र अब भवन निर्माणको काम छिटै सम्पन्न हुने बताए ।

भवन निर्माण कार्य सम्पन्न भए माटोको कच्ची घर तथा पाल टाँगेर बस्दै आएका आफूहरुलाई राहत हुने बादी समुदायले बताउँदै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us