
काठमाण्डू, २० जेठ– काभ्रेको रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोक कुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई काभ्रे भन्ज्याङ्गबाट सोमबार पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेले वडा अध्यक्ष गौतमलाई पक्राउ गरिएको जानकारी दिएका छन । वडाअध्यक्ष गौतमलाई आज अदालतबाट म्याद थप गराएर अनुसन्धान गर्ने तयारी गरिएको उनले जानकारी दिएका छन ।
गत असोजमा रोशी खोलमामा आएको बाढीले बगाएको फलामको पक्की पुल र झोलुङ्गे पुल व्यक्तिगत रुपमा कबाडीलाई बिक्री गरेको आरोप उनी पक्राउ परेका हुन् ।
सरकारी सम्पत्ति सम्बन्धित पक्षसँग समन्वय नगरी वडा अध्यक्षले मनोमानी ढंगबाट बिक्री वितरण गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । कटुन्जेबेशीबाट रघुचौरहुँदै खार्पाचोक, कालिन्चोक र वाइबाडाडा जाने झोलुङ्गे पुल वडा अध्यक्ष गौतमले बिक्री गरेको स्थानीयको आरोप छ ।