महोत्तरीमा लाखौँ धनमाल लुटियो

काठमाण्डु टुडे २०७० माघ १४ गते ५:५८ मा प्रकाशित

महोत्तरी, १४ माघ – जलेश्वर नगरपालिका– ५ स्थित श्याम डिभिडी हाउसमा गएराति लाखौँको लुटपाट भएको छ । अज्ञात लुटेरा समूहले डिभिडी हाउसका सञ्चालक श्यामसुन्दर साहलाई कुटपिट गर्दै रु तीन लाख ५५ हजार लुटपाट गरी लगेको पीडितले बताएका छन् ।

राति ८ बजेतिर अचानक पसलमा पसेर लुटेरा समूहले पसलको काउन्टर, कम्युटर, मोबाइललगायतका सामान तोडफोड र साहलाई कुटपिट गर्दै लुटपाट मचाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तीन जनाको समूहमा आएका लुटेराले सो पसलबाट ३० थान विभिन्न कम्पनीका मोबाइल, ३० थान मोबाइलका ब्याट्री, १५ हजारका एनसेल र एनटिसीका रिचार्ज कार्ड र एक लाख २० हजार नगद गरी रु तीन लाख ५५ हजारको लुटपाट गरेको जनाइएको छ ।

घाइते साहको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहको छ । लुटेरा समूहको खोजतलास व्यापकरुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us